जानकी (बाँके)। बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् ।
प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो ।
छालाको लम्बाइ नौ फिट आठ इञ्च रहेको छ । घाँटीमा दुई ठाउँमा गोलीको प्वाल फेला परेको छ । बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा पाँच लाखदेखि १० लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुनसक्ने वन अधिकृत कर्णले बताए ।
चारै जनाबारे थप अनुसन्धन डिभिजन वन कार्यालय गरिरहेको छ ।