बुटवल – रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरबिन्द कुमार यादव घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इन्जिनियर यादवलाई बुधबार घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
कोटहीमाई गाउँपालिका–७ अन्तर्गतको सडक पिसीसी र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको दाहालले जानकारी दिए।
सेवाग्राहीबाट ४५ हजार घुस लिइसकेको अवस्थामा इन्जिनियर यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए।