वीरगञ्ज / विद्युतीय ट्रान्सफर्मर चोरी गर्ने गिरोहका चार जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ।
विद्युतीय ट्रान्सफर्मर चोरी गर्ने गिरोहका रौतहट गरुडा नगरपालिका–६ पोठियाही बस्ने अशोक साह, कटहरिया नगरपालिका–१ भसेढवा बस्ने रामलाल महतो, वीरेन्द्र राय र सुखल महतोलाई प्रहरीले पक्राउ गरेको हो।
रौतहटको विभिन्न स्थानमा जडान भएका विद्युतीय ट्रान्सफर्मर एकपछि अर्को सिलसिलेवार चोरी भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
सोही क्रममा गरुडा नगरपालिका–४ बस्ने लक्ष्मीप्रसाद चौधरीको घरबाट ट्रान्फर्मरको तारलगायत सामग्री प्रहरीले बरामद गरेको थियो।
साथै, चोरीमा संलग्न भएका चारै जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रबक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए।
पक्राउ परेकाहरूले विद्युत्मा जडान रहेकै अवस्थामा विभिन्न उपकरणको सहायताले पोलबाटै तार काटी तल झारी ट्रान्सफर्मरबाट भित्र रहेका तामाका तारलगायत अन्य मूल्यवान सामान झिक्ने गरेको उनले बताए।
पक्राउ परेकाहरुको साथबाट तामाका तार, तीन वटा मोटरसाइकल, एउटा आइफोन र तीन वटा अन्य मोबाइल बरामद गरिएको यादवले बताए।
चारै जनालाई अदालतबाट चोरीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।