काठमाडौँ / जिल्ला अदालत मोरङले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका नारायण प्याकुरेललाई धरौटीमा रिहा आदेश गरेको छ।
मधेश प्रदेशस्थित उच्च अदालत राजविराजमा कार्यरत ४६ वर्षीय प्याकुरेललाई २ लाख रुपैयाँ धरौटी बुझाएर मंगलबार रिहा गर्न जिल्ला अदालत मोरङले आदेश दिएको हो।
जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्याकुरेललाई धरौटीसहित रिहाको आदेश दिएको थियो। उनी मंगलबार नै धरौटी रकम बुझाएर छुटेका छन्।
विराटनगरका स्थानीय प्याकुरेललाई प्रहरीले जेठ २४ गते पक्राउ गरेको थियो। ‘अदालतको आदेशमा तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहर बमोजिम हुने गरी प्रतिवादीलाई २ लाख रुपैयाँ धरौटी लिएर पुर्पक्ष लागि तारेखमा राख्नू,’ आदेशमा भनिएको छ।
प्याकुरेलविरुद्ध विराटनगरमा एक २३ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको थियो। विवादास्पद छविका प्याकुरेलविरुद्ध यसअघि पनि मोरङ प्रहरीले मुद्दा चलाइसकेको छ।
प्रहरी स्रोतका अनुसार प्याकुरेल अदालतका कर्मचारीउपर दुर्व्यवहार, सडकमा खटिएका प्रहरीमाथि हातपातलगायतका विवादमा तानिदै आएका थिए।
जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा कार्यरत रहँदा प्रहरीमाथि आक्रमण गरेको विषयमा प्रहरीले दुई पटक प्याकुरेललाई पक्राउ गरेको थियो। त्यसैगरि, उच्च अदालतमा कार्यरत रहँदा उनमाथि प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो।