काठमाडौँ / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले शैक्षिक प्रणाली सुधारका लागि सबल र सक्षम विश्वविद्यालय हुनुपर्ने बताएका छन्
काठमाडौंमा बिहीबार आठौं कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) उद्घाटनमा बोल्दै उनले विश्वविद्यालयलाई विद्यार्थीको आकर्षणको केन्द्र बनाउनुपर्ने बताए । ‘विद्यालय शिक्षा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छ, तर उच्च शिक्षामा विदेश जाने विद्यार्थीको आकर्षण बढ्दो छ,’ उनले भने । विश्वविद्यालय सुधार गरेरमात्रै विदेश जाने विद्यार्थी र पैसा रोक्न सकिने उनले जनाए ।
उच्च शिक्षामा शैक्षिक क्यालेन्डर लागू गर्न सके केही सुधार आउने अध्यक्ष सिलवालको भनाइ छ । ‘सरकारको नीति तथा कार्यक्रम र बजेटमा शैक्षिक क्यालेन्डर लागू गर्ने घोषणा र प्रतिबद्धता आएको छ,’ उनले भने, ‘शैक्षिक क्यालेन्डर चुस्तदुरुस्त हुन जरुरी छ ।’ शैक्षिक क्यालेन्डर लागू गर्ने प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने उनले जनाए । ‘आंगिक, सामुदायिक र निजी क्षेत्रको भूमिका तथा योगदानलाई सशक्त बनाउनुपर्छ, त्यति गर्न सके स्वदेशीमात्र होइन, विदेशी विद्यार्थी ल्याएर शैक्षिक हब बनाउन सकिन्छ ।’ विद्यार्थीमा विदेश जाने मोह टुटाउन राजनीतिक दल र भ्रातृ संगठनले पनि भूमिका खेल्नुपर्ने उनले बताए ।
उनले सरकारले कम्तीमा स्नातक तहपछि मात्रै अध्ययनका लागि विदेश जान पाउने नीति लिनुपर्ने धारणा राखे । ‘छात्रवृत्तिमा पढ्न जान दिनुपर्छ, नेपालमा नभएका विषयमा मात्रै विदेश पढ्न जान दिनुपर्छ, त्यसो गरे नेपाली पैसा बाहिरिन रोकिन्छ, कर्मचारीलाई तलब खुवाउन नसक्ने अहिलेको अवस्था अन्त्य हुन्छ,’ उनले भने ।
निजी क्षेत्र नेपाललाई शैक्षिक हब बनाउन तयार रहेको उनले जनाए । ‘लगानीको संरक्षण, फैलावट गरेर गुणस्तरीय शिक्षा दिन तत्पर छौं, तर सरकारले भूमिका दिनुपर्छ, ऐन कानुन सहज हुनुपर्छ ।’ छिटोभन्दा पनि राम्रो शिक्षा ऐन आवश्यक रहेको उनले औंल्याए । ‘शिक्षा ऐन आउन सकेको छैन, निष्कर्षमा पुग्न सकेको छैन, सबै सरोकारवालाको सुझावमा विद्यार्थी, अभिभावक, समुदाय र निजी क्षेत्र मैत्री शिक्षा ऐन चाहिन्छ,’ सिलवालले भने । त्यो गर्न सके शिक्षामा विदेशी लगानी भित्र्याउन निजी क्षेत्र सक्षम रहेको उनले बताए ।