बाजुरा । जिल्लाको पूर्वी क्षेत्रमा रहेको एक वडा कार्यालयमा गए राति आगजनी भएको छ । हिमाली गाउँपालिकाको वडा –५ को वडा कार्यालयमा गए राति अज्ञात समुहले आगजनी गरेका हुन् ।
२०८० जठे ३० गते बेलुकी ८ देखि ९ बजेको बीचको समयमा सो वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको हिमाली गाउँपालिकाका पदाधिकारीले जनाएका छन् ।
वडा कार्यालयको ढोका तोडफोड गरी त्यहाँ रहेका महत्वपूर्ण कागजात जलाउनुका साथै तीन वटा कुर्सी, कम्प्यूटर, प्रिन्टर समेत तोडफोड गरेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीलेजनाउनुभयो ।
उहाँले भन्नुभयो, “भोलि त्यो वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि शिविर बसाल्ने तयारी थियो । वडा कार्यालयमा तोडफोड गरी कागजात जलाएपछि सो काम स्थगित भएको छ ।”
वडा कार्यालयनजिक कवाडी प्रहरी चौकी छ । प्रहरी चौकीबाट सो वडा कार्यालयमा पुग्न पैडल ५ मिनेटको समय लाग्छ । हिमाली गाउँपालिकाका स्थानीयको सहजताका लागि केही वर्ष यता कवाडीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरेको थियो ।
नागरिकको जीउ धनको सुरक्षाका लागि त्यहाँ अस्थायी प्रहरी पोष्ट स्थापना गरे पनि यहाँका नागरिक असुरक्षित रहेको स्थानीय रामदल बुढाले जनाउनुभयो । उहाँले भन्नुभयो, “वडा कार्यालयनजिक जुवा, तास खेल्ने र जाँडरक्सी खाएर हल्ला गर्दैआएको भए पनि प्रहरीले उनीहरुलाई कहिले पनि सुझाव नदिएको जनाउनुभयो ।
कार्यालय तोडफोड गर्ने एक जनालाई पक्राउ गरेर सोधपुुछका लागि जिल्ला प्रहरी कार्यालय बाजुरा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी किशोरसिंह ऐरले जनाउनुभयो ।