बाँके । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नयाँ भवन निर्माणका लागि श्रोतको खोजीमै लामो समय बितेको छ । सङ्घ अन्तर्गतका विभिन्न मन्त्रालय, विभाग तथा लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमा लगातार नयाँ भवन निर्माणका लागि मागपत्र प्रस्तुत गर्ने क्रम चलिरहेको क्याम्पस प्रमुख लालमणि आचार्यले जानकारी दिनुभयो ।
जीर्ण भवन भत्काएर नयाँ निर्माणका लागि भारतीय दूतावास र नेपालगञ्ज उपमहानगरपालिकासँग समेत बजेट माग गरिएको क्याम्पस प्रमुख आचार्यले जनाउनुभयो । त्रिभुवन विश्व विद्यालयसँग समेत नियमित बजेट माग भइरहेको क्याम्पसले जनाएको छ ।
क्याम्पस प्रमुख आचार्यले भन्नुभयो, ‘मागपत्र लिएर जाँदा सबै ठाउँमा सकारात्मक जवाफ आउँछ, तर बजेट विनियोजन हुँदा, रित्तोहात हुने गरेको छ ।’ उहाँले सङ्घको बजेटमा यसपटक उल्लेख्य बजेट विनियोजन भएको कुनै जानकारी नभएको जनाउनुभयो । क्याम्पस प्रमुख आचार्य सहितको टोलीले सङ्घ र प्रदेशका मन्त्रालय र विभागमा पटक–पटक क्याम्पसको समस्या दर्साएर मागपत्र बुझाएपनि योजनामा परेको छैन ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थी अध्ययनरत यस क्याम्पसको करिब ५० वर्षअघि निर्माण गरिएको भवन जीर्ण भएर भत्किने अवस्थामा छ । क्याम्पस प्रमुख आचार्यका अनुसार अधिकांश भवनबाट पानी चुहिन्छ भने कतिपय कोठाबाट इँटा र सिमेन्ट निस्कने गरेको छ ।
क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरूले जोखिमपूर्ण रहेपनि जीर्ण भवनबाटै अध्ययन अध्यापन भइरहेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले क्याम्पसको जीर्ण रहेको भवन प्रयोग गर्न नमिल्ने जनाएपछि सोही भवनबाट लामो समयदेखि पठनपाठन भईरहेको छ ।