काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा भइरहेको पहिचान पक्षधहरूको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले पहिचान पक्षधहरूले कोशी प्रदेशको नामकरणको विरोधमा भइरहेका आक्रमणलाई छुट दिन नसक्ने बताएका हुन्।
‘संविधान र कानुनलाई आफ्नो हातमा लिने, उदण्ड गतिविधि गर्ने, व्यक्ति नेता, सांसद वा अरूको सुरक्षामा थ्रेड दिनेलाई सरकारले छुट दिन सक्दैन। यस्ता गतिविधिलाई सरकारले कुनै प्रकारले छुट दिन सक्दैन। सरकार वा राजनीतिक पार्टीहरूले पनि संयमतापूर्वक कुनै पनि गतिविधिका कारणले यस प्रकारको अराजक, उदण्ड वा गैरकानुनी कामहरूलाई प्रोत्साहन पुग्ने काम नहोस भनेर सरकार समेत सचेत भएर सावधानी पूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता छ। संविधान र लोकतन्त्र सम्बत ढंगले प्रदेशसभाले गरेको निर्णय सबैले कार्यान्वयन गर्नैपर्छ। तर, हामीले वार्ता, संवादबाट यस्ता समस्या समाधान गर्नुपर्छ,’ उनले भने।
गृहमन्त्री श्रेष्ठले लामो संघर्ष र बलिदानीबाट आएको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि आक्रमण गर्नेहरूलाई बल पुग्ने गरीका काम नगर्न पहिचान पक्षधहरूलाइृ आग्रह गरे।
‘संघीय लोकतान्त्रिक गणतन्त्र हामीले धेरै संघर्ष गरेर उपलब्धि प्राप्त गरेको हो। आक्रमण हुन दिनु कसैको पनि हितमा हुनेछैन। यसको हामीले रक्षा गर्नुपर्ने हुन्छ। आन्दोलनकारी साथीहरूलाई भन्न चाहन्छु सबैलाई आ–आफ्नो विचार राख्ने स्वतन्त्रता छ। तर, त्यो संविधान र लोकतन्त्रले प्रत्याभूत गरेको शान्तिपूर्ण विधि अन्तर्गत हुनुपर्छ। त्यसको रक्षा गर्न सरकार वचनबद्ध छ। तर, आफूले ठीक ढंगले विषयवस्तुले पक्रन नसक्दा संघीयतामाथि आक्रमण गर्ने र संघीयता कमजोर बनाउन चाहनेहरूलाई बल पुग्न नजाओस् भनेर ती साथीहरूलाई गम्भीर बन्न आग्रह गर्दछु,’ उनले भने।