सत्ता सहयात्री नेपाली कांग्रेसमा अहिले आन्तरिक संघर्ष बढेको छ । विशेषगरी सरकारमा सहभागी हुनका लागि सभापति शेरबहादुर देउवाका विगतका गतिविधि र अहिले सत्तामा टिकिरहन जस्तोसुकै निर्णयहरुमा सहमति जनाइरहेको भन्दै पार्टीकै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताहरुले विरोधका स्वर उरालेका छन् । हालै मात्र टीकापुर घटनाका एक अभियुक्त रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको र कांग्रेसले त्यसमा सहमति जनाएकोमा महामन्त्री थापाले सार्वजनिक रुपमा असन्तुष्टि जनाए । पार्टीले बहुमतको नाममा गर्ने गलत निर्णयलाई नमान्ने घोषणा गरे । यद्यपि, थापाको यो विरोध हालको मात्र होइन । यसअघि पनि उनले ‘अब अत्ति भयो’ भन्दै सामाजिक सञ्जालमा नै स्टाटस राखेका थिए ।
कांग्रेसमा संस्थापनको विरोध गर्दै आएका थापाले यसअघि पार्टीभित्रको बहुमतले गरेको निर्णयलाई फरक मत राख्दै माने पनि अब नमान्ने जनाएका छन् । कांग्रेसको अहिलेको इमेज सबै थोक सत्ता भन्ने भाष्य बनेको र त्यसका लागि चुनावमा फरक विचार बोक्ने दलहरुसँग गठबन्धन गरेर निर्वाचनमा गएर गल्ती गरेको उनको टिप्पणी छ । त्यसैले यसअघिका गल्तीमा जनतासँग माफी माग्नुपर्ने उनको भनाइ छ । थापालगायतको विरोधका कारण कांग्रेसमा नैतिकताको प्रश्न खडा मात्र गरेको छैन, कांग्रेस भविष्य संकटमा रहेको पनि स्पष्ट पारेको छ ।
नेपाली राजनीतिक इतिहासमा पुरानो र विभिन्न विरासत बोकेको कांग्रेस पछिल्लो समय भने कमजोर बन्दै गएको छ । कांग्रेसमा पुस्तान्तरको समस्याका कारण युवा नेतामा निराशा बढ्दै गएको छ । अर्कोतर्फ कांग्रेसले माओवादीलगायत आफ्नो विचारधारा नै नमिल्ने कम्युनिस्ट दलहरुसँग चुनावी सहकार्य गर्दै आएको छ, जसलाई जनताले अनुमोदन गर्न अस्वीकार गरेका छन् । यस्तै, विभिन्न भ्रष्टाचार काण्डका कारण पनि यो दलका नेताहरु विवादित हुँदै आएका छन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण नै प्रहरी हिरासतमा छन् । यसले कांग्रेसप्रतिको वितृष्णा जनतामा मात्र होइन, कार्यकर्ता तहमा नै बढ्दै गएको छ । पछिल्लो समय कांग्रेसबाट अन्य वैकल्पिक पार्टी प्रवेश गर्नेको लर्को नै लागेको छ, जुन कांग्रेसका लागि नै चिन्ताको विषय पनि हो । महामन्त्री थापाले पनि चुनावमा कम्युनिस्ट दलसँग गरिने अस्वाभाविक गठबन्धनका लागि जनतासँग मार्फी माग्नुपर्ने र यस्तो गठबन्धन अब कहिल्यै गर्न नहुने तर्क गरेका छन् । नेपाली कांग्रेस पार्टीले गरेको गल्तीलाई स्वीकार्दै आम जनतासँग माफी माग्दै, आम पार्टीका सदस्यसँग माफी माग्दै कांग्रेसले जतिपटक चुनाव हारे पनि चुनावअघि गठबन्धन नगर्ने वाचा गर्नुपर्ने उनको भनाइ छ ।
त्यतिमात्र नभई कांग्रेसले विगतमा भएका भ्रष्टाचारका काण्डहरुलाई पनि छानबिनमा सघाउनुपर्ने, जनताकेन्द्रित मुद्दा तथा योजनामा ध्यान दिनुपर्ने आवश्यकता छ । पार्टीमा लादिएको परिवारवाद, नातावाद, कृपावादलाई अन्त्य गर्दै लोकतान्त्रिक पद्धतिलाई अवलम्बन गर्न जरुरी छ । यति कांग्रेस त्यसरी नसुध्रिएमा पार्टीको एउटा ठूलो समूह पार्टी विभाजनमा नै लाग्ने जोखिम देखिन्छ । विगतमा आफैले असन्तुष्टि जनाएर कांग्रेसको विभाजन गरेका देउवाले फेरि आफ्नै सभापतित्वकालमा अर्को विभाजन देख्ने जोखिम बढेको छ । त्यो गल्ती दोहोरिन नदिन कांग्रेसले आफ्ना गल्तीलाई सुधार्न जरुरी छ , आगे कांग्रेसजनलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट