काठमाडाैं । क्यानडा र चेक रिपब्लिक पठाइदिने भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौंको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो।
उनले चार जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक रिपब्लिकलगायत देशमा पठाउने लोभ देखाएर प्रतिव्यक्ति पाँच लाख रुपैयाँ असुलेको फेला परेको छ। मग्रातीले ती देश जान १० लाख रुपैयाँ लाग्ने भन्दै रकम असुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनले पीडितलाई ती देशका प्रतिष्ठित अटोमोबाइल कम्पनीमा जनरल वर्करको काम लगाइदिने र त्यहाँबाट मासिक दुई लाखसम्म तलब पाइने प्रलोभन देखाएका थिए।
रकम लिएपछि फरार भएका उनलाई पक्राउ गरी उपस्थित गराइदिन वैदेशिक रोजगार विभागले अनुरोध गरेको थियो। यसको आधारमा पक्राउ गरी बुधबार नै थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाएको रेग्मीले बताए। RSS