अस्ट्रेलियाले भियतनाम युद्धमा पराजित अमेरिकालाई साथ दिएको थियो । युद्ध भने दुई भियतनाम एकीकरणसँगै अन्त्य भएको थियो ।
अस्ट्रेलियाले भियतनामबाट आफ्नो सेना फिर्ता बोलाएको ५० वर्ष पूरा भएको अवसरमा २ डलरको सिक्का जारी गरेको हो । अस्ट्रेलियाको उक्त कदमको विरोध गर्दै बीबीसीसँगकाे कुराकानीमाब भियतनामी विदेश मन्त्रालयका सहप्रवक्ता फाम थु हाङ भन्छिन्, ‘रोयल अस्ट्रेलिया मिन्ट र अस्ट्रेलिया पोस्टले जारी गरेको तीनधर्के पहेँलो झण्डा भएको वस्तुको वितरण भइरहेकोमा हामी खेद व्यक्त गर्दछौँ । जुन झण्डावाला सत्ता अहिले अस्तित्वमै छैन ।’
सिक्काको एक पाटोमा दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीया र अर्को पाटोमा यूएच-१ एच हेलिकप्टरसमेत रहेको छ । सन् १९६२ देखि १९७५ सम्म भियतनाम युद्धमा ५२० भन्दा बढी अस्ट्रेलियन मारिएका थिए ।
दोस्रो विश्वयुद्धको केही समयपछि अमेरिकाले भियतनाममा आफ्नो सैन्यलगायतको संलग्नता बढाउँदै लगेको थियो । १९६९ मा दक्षिणी भियतनाममा रहेका अमेरिकाले सशस्त्र फौजको संख्या ५ लाख ४३ हजार पुर्याएको थियो ।
उत्तरी भियतनामको सत्ता कम्युनिस्टको कब्जामा पुगेसँगै समग्र दक्षिणपूर्वी एसियाली देशको लोकतन्त्र खतरामा पुग्ने भन्दै अमेरिकाले दक्षिणी भियतनामलाई सहयोग गर्ने घोषणा गर्दै सैन्य संलग्नता बढाएको थियो । तर आठ वर्षको लडाइँसँगै ठूलो आर्थिक र मानवीय स्रोत साधन परिचालन गर्दा पनि अमेरिका उत्तरी भियतनामका फौजी र उसका छापामार साझेदारहरू भियत कङ (भियतनाम कम्युनिस्ट) सँग पराजित भएको थियो ।
१९७२ मा उत्तर भियतनामले आक्रमण गरी दक्षिणको ठूलो भूभाग नियन्त्रणमा लिएपछि युद्धविराम सम्झौता भएको थियो । सम्झौताअनुसार अमेरिकी सेना फिर्ता भएपछि उत्तर भियतनामले सैनिक आक्रमण गरी दक्षिणलाई आफूमा गाभेको हो । भियतनाम युद्धका क्रममा २० लाख भियतनामी र ५८ हजारभन्दा बढी अमेरिकी सैनिकले ज्यान गुमाएका थिए ।