जनकपुरधाम – अनलाइन ठगीमा संलग्न रहेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका २३ जनामध्ये दुई जनामाथि मुद्दा चलाइएको छ।
गत चैत २० गते जनकपुरधाम उपमहानगरपालिकाको पिराडी चौकबाट प्रहरीले अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा २३ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये दुई जनामाथि मुद्दा प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
सत्यानन्द राम र विजय सिंहमाथि राष्ट्र बैंक कसुरअन्तर्गतको मुद्दा चलाइएको उनले बताए। बाँकी २१ जनालाई तारिखमा छोडिएको प्रवक्ता गौतमले जानकारी दिए।
प्रहरीले जनकपुरधामको पिडारी चोकमा एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आइरहेको सूचनाको आधारमा गत चैत २० गते छापा मारेर ९० वटा कम्प्युटरसहित २३ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा १४ जना पुरुष र ९ जना महिला रहेका थिए।