वीरगञ्ज – लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय सञ्जीव केशरी र चितवनको भरतपुर महानगरपालिका–४ रामघाट बस्ने बिशाल श्रेष्ठलाई पक्राउ गरेको हो।
भारतको रक्सौलबाट लुकाईछिपाई प्रतिबन्धित लागूऔषध नेपालतर्फ भित्राउदैँ गरेको अवस्थामा उनीहरुलाई प्रहरीले वीरगञ्ज–१६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट पक्राउ गरेको हो । प्रहरीले केशरीले चलाउदैँ आईरहेको ना ३२ प ९४०३ नम्बरको मोटरसाइकल चेकजाँचका लागि रोकेको थियो ।
सोही क्रममा सिटमुनि कालो प्लाष्टिकमा लुकाएर राखिएको १ पत्तामा ३० ट्याब्लेट गरी २० पत्तामा ६०० पिस लागुऔषध नाईट्राभेट ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । त्यस्तै सोही सडकखण्डबाट प्रहरीले हिजो साँझ रक्सौलबाट नेपालतर्फ लुकाईछिपाई ल्याउदैँ गरेको प्रतिबन्धित लागुऔषध फेनारगन–४७ एम्पुल, डाईजेपाम–४७ एम्पुल, नुर्फिन–४७ एम्पुल गरी जम्मा १ सय ४१ एम्पुलसहित श्रेष्ठलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले बताए।
लागुऔषधसहित पक्राउ परेका दुबैजनालाई लागुऔषध सम्बन्धि मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान भईरहेको गिरीले बताए ।