मोरङ – मोरङको रंगेली नगरपालिकाबाट प्रहरीले २ सय २४ किलो लागुऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुुसार रंगेली–२ र ३ बाट ठूलो परिमाणको लागुऔषध गाँजासहित भारत अररियाका ३० वर्षीय सिन्टुककुमार सिंह, २९ वर्षीय दीपक झा, २४ वर्षीय प्रवीण पासवान र विष्णुकान्त मिश्र छन्।
त्यसैगरी, रंगेली–३ का वीरबहादुर कार्कीलाई पनि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए। वडा नम्बर २ स्थित चेका खोलानजिक गहुँबारीमा दीपक र सिन्टुकलाई १५० किलो गाँजासहित पक्राउ गरेको उनले बताए।
दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने क्रममा थप ८४ किलो गाँजा बरामद भएको हो। रंगेली र प्रहरी चौकी अमाहिवरियातीबाट खटिएको प्रहरीको संयुक्त टोलीले रंगेलीस्थित रञ्जनीका वीरबहादुरको घरमा लुकाएर राखेको सो परिमाणको गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार वीरबहादुर, प्रवीण र विष्णुकान्त गाँजा ओसारपसारमा संलग्न रहँदै आएका हुन्। प्रहरी प्रवक्ता दाहालका अनुसार पक्राउ परेको गिरोहले प्लास्टिकमा प्याक गरेर बोरामा राखी गाँजा भारत कटाउने गरेको पाइएको छ।
अवैध रूपमा गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्ति भने फरार अवस्थामा रहेको प्रहरीले जनाएको छ। प्रहरीलाई सुरुमा प्राप्त जानकारीअनुसार गाँजा ओसारपसारमा १७ जनाको संलग्नता थियो।