काठमाडौँ – सत्तारुढ नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिष्ट पार्टीनिकट किसान संगठनले रासायनिक मलको समस्या समाधानको माग राख्दै माइतीघरमा प्रदर्शन गरेका छन्।
बुधबार काठमाडौँको माइतीघर मण्डलामा रासायनिक मलखादको समस्या, लघुवित्त, मिटरब्याजको समस्या समाधान गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङले नेपाली किसानलाई राज्यले उपेक्षा गरेकाले सडक आन्दोलनमा आएको बताए।
उनले किसानलाई सरकारले समयमा नै मल बीउको समेत व्यवस्था नगर्दा किसानहरु समस्यामा परेको बताए। उनले किसानले उत्पादन गरेको वस्तुले बजार नपाउने तर विदेशबाट आयात गरेर खाने दलाल सरकारको कारण किसान दुःखी रहेको बताए। उनले यो आन्दोलन सातै प्रदेशमा गर्ने पनि बताए।
त्यस्तै, प्रदर्शनमा सहभागी अखिल क्रान्तिकारीकी उपाध्यक्ष शिलु न्यौपानेले नेपाल कृषिप्रधान देश भए पनि किसानहरुले किसान भएर बाच्न सक्ने अवस्था नभएको बताइन्।
उनीहरुले कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नुपर्नेलगायतका माग राखेका छन्।
प्रदर्शनमा माओवादीनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान युनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघको सहभागिता थियो।


