काठमाडौं । नेपाली कांग्रेसले दुई दिन समय मागेपछि विश्वासको मत लिने तयारीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री अप्ठ्यारोमा परेका छन् ।
बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो । तर सत्ता गठबन्धन र प्रदेशसभाकै ठूलो दल कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौंमै छन् । कांग्रेस प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले भनिन्, ‘संसदीय दलको बैठक चलिरहेको छ ।
दलमा छलफल नभएकाले दुई दिनको समय मागेका छौं ।’ कांग्रेस नै अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले प्रदेशसभाको बैठक स्थगित गराउन चाहेका छन् ।
प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता गोपाल पोखरेलका अनुसार अहिलेसम्म मुख्यमन्त्री कार्यालयबाट कुनै पत्र आएको छैन र बैठक पनि स्थगित भएको छैन । माओवादी संसदीय दलका नेता जमकट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राप्रपाले १३ फागुनमै समर्थन फिर्ता लिएर सरकार छाडेको थियो, एमाले भने सरकारमै छ । तर सत्ता गठबन्धन हेरफेर भएकाले कांग्रेसलाई समेटेर सरकार गठन गर्ने मुख्यमन्त्री जमकट्टेलको तयारी छ ।


