काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई पूर्णता दिने आन्तरिक तयारीमा छन्। सोमबार संसदबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने भनेका प्रचण्डले गठबन्धनका दलहरुसँग मन्त्री बन्नेहरुको नाम मागेका छन्।
सत्ता साझेदार ठूलो दल कांग्रेसले ९ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ। प्रधानमन्त्री दाहालले कांग्रेसले ७/८, माओवादीले ४/५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३/४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २, नागरिक उन्मुक्ति,जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले १ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने प्रारम्भिक खाका अघि सारेका छन्।
प्रधानमन्त्री स्रोतका अनुसार कांग्रेस र रास्वपाबाहेक अन्यले प्रधानमन्त्रीको यो भागबन्डामा चित्त बुझाएका छैनन्। प्रधानमन्त्री दाहालले गरेको भागबन्डामा जसरी दलहरुले चित्त बुझाएका छैनन्, त्यसैगरी कांग्रेसभित्र पार्टी सभापति देउवाले टुंग्याएका नाममा पनि पार्टीभित्र असन्तुष्टि छ।
पार्टी उपसभापति पूर्ण बहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, नेता प्रकाशमान सिंह र इतरसमूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालामध्ये एकको नेतृत्वमा सरकारमा जाने चर्चा छ।
चारै जनाको सशक्त दाबी रहेका कारण देउवालाई टुंगो लगाउन हम्मेहम्मे परेको छ। उपसभापति खड्काले सार्वजनिक रुपमा मन्त्री नबन्ने घोषणा गरे पनि पार्टी सभापति शेरबहादुर देउवासँग उपप्रधानसहितको मन्त्रालयको माग गरिरहेका छन्।
उनले आफ्नो नेतृत्व नै सबैभन्दा उत्तम विकल्प भएको भन्दै पार्टी सभापतिलाई फकाइरहेका छन्। पछिल्लो समय खड्काप्रति देउवाको विश्वास र भरोसा कम हुँदै गएको भनिए पनि खड्काले आफू नै एकमात्र सशक्त दाबेदार भएको भन्दै देउवालाई मनाउन खोजिरहेका छन्।
‘मन्त्री पो हुँदिनँ, उपप्रधानमन्त्री पाएँ भने जान्छु’ भन्ने आशय खड्काभित्र लुकेको उनी निकट नेताहरु बताउँछन्। पार्टीका अर्का उपसभापति धनराज गुरुङ पनि सरकारमा जाने पंक्तिमा छन्। तर सोही क्षेत्र (गण्डकी प्रदेश)को प्रतिनिधित्व गर्ने सहमहामन्त्री जीवन परियार पनि मन्त्री बन्न इच्छुक भएकाले गुरुङ वा परियारमध्ये देउवाले कसलाई पठाउँछन् भन्ने टुंगो लागिसकेको छैन।
संस्थापनइतर समूहबाट धनराज गुरुङको विकल्प नदेखिएको नेताहरुको बुझाइ छ। यता, अर्का सहमहामन्त्री बद्री पाण्डेले पनि मन्त्री बन्ने चाहना राखेका छन्। दुई जना सहमहामन्त्रीमध्ये एकले मन्त्री बन्ने अवसर पाउने देउवा निकट एक नेताले देश सञ्चारलाई बताए।
पार्टीभित्र इतर समूहको नेतृत्व गर्दै आएका डा.शेखर कोइरालाको नेतृत्वलाई समग्र पार्टीले स्वीकार्ने अवस्था छैन। यद्यपि, कोइराला सरकारमा जाने मन्त्रीहरुको नेतृत्व गर्दै उपप्रधानसहित परराष्ट्र पाउनुपर्ने अडानमा छन्। देउवासँग कोइरालाले यस्तो आग्रह गर्दै आएका छन्।
कोइरालको सचिवालयले देउवाले कोइरालालाई छलफलको लागि औपचारिक रुपमा भने नबोलाएको दाबी गरेको छ। नेता कोइरालाको सचिवालयले देश सञ्चारसँग भन्यो, ‘कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे अनौपचारिक छलफल भएका छन् तर औपचारिक रुपमा पार्टी सभापतिज्यूले छलफलको आयोजना गर्नुभएको छैन। को–को सरकारमा जाने? कसको नेतृत्वमा जाने? भनेर सम्वभत भोलि(बुधबार)सम्म टुंगो लाग्न सक्छ।’
कोइराला समूहले आफ्नो नेतृत्वमा सरकारमा जानुपर्ने र आफ्नो समूहका नेताले तीनदेखि चार मन्त्री पाउनुपर्ने भन्दै देउवालाई दबाब दिएको बुझिएको छ। यता, नेता प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने हो भने पार्टीका वर्तमान महामन्त्री, पूर्व महामन्त्री, उपसभापतिहरुले सिंहको नेतृत्व स्वीकार्ने अवस्था देखिँदैन।
सिंह पार्टीका पूर्व महामन्त्री हुन्। उनको नेतृत्व उपसभापति र शीर्ष नेताले स्वीकार्ने अवस्था देखिँदैन। यद्यपि, देउवाले राजी भएको खण्डमा भने उनीभन्दा जुनियर नेताहरु मन्त्री भएर सरकारमा जाने सम्भावना छ।
आफ्नो नेतृत्वको सरकारमा जाने चाहनाबारे प्रकाशमानले देउवालाई निकै दबाब दिएका बुझिएको छ। पछिल्लो समय देउवाले रुचाएका र विश्वासिला पात्र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वको पनि चर्चा भएको छ।
महतले अर्थमन्त्री बनाइदिन देउवासँग आग्रह गरेका छन्। देउवा पत्नी आरजु राणाले चाहेको खण्डमा असम्भव भन्ने देखिँदैन पनि। तसर्थ प्रवक्ता महत नेतृत्वमा जान खोज्ने चाहनालाई पनि अर्को विकल्पको रुपमा हेरिएको छ।
आरजु आफै पनि उपप्रधानसहितको मन्त्रालयको तयारीमा रहेको पार्टी पंक्तिमा चर्चा छ।
महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा दुवै सरकारमा सहभागी नहुने भनिरहेका छन्। दुई महामन्त्रीको रोजाइको एक व्यक्तिलाई पनि सरकारमा लैजान उनीहरुले देउवासँग आग्रह गरेका छन्।
थापा र शर्माको साझा पात्र युवा नेता प्रदीप पौडेल भएको थापानिकट एक नेताले देश सञ्चारलाई बताए। यस्तै, पूर्वमन्त्रीहरु अर्जुनरसिंह केसी, मोहन बस्नेत र नेता सुनील शर्मा देउवाको रोजाइमा परेका बुझिएको छ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निवार्चित पार्टीकी एक मात्र महिला सीता गुरुङ भने मन्त्री बन्ने सम्भावना कम रहेको कांग्रेस नेताहरु बताउँछन्। सीता प्रत्यक्ष चुनिएकी नेत्री भए पनि देउवाको रोजोइमा ईश्वरी न्यौपाने रहेकाले उनको सम्भावना धेरै छ। न्यौपानेलाई कांग्रेसले सभामुखको उम्मेदवार बनाएको थियो।
देउवाले केहीदिनयता पार्टीका सबैजसो शीर्ष नेताहरुसँग गहन छलफल गरेपछि यी नामहरुमा सहमति जुट्ने सम्भावना देखिएको देउवानिकट एक नेता बताउँछन्।
मंसिर ४ को निर्वाचनपछि बनेको सत्ता गठबन्धन भत्किएपछि प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाएका हुन्। प्रचण्ड नेतृत्वको सरकारबाट एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहिरिएपछि प्रचण्डले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।


