पाकिस्तान / पूर्वप्रधानमन्त्री इमरान खानको घरमा प्रहरी प्रवेश गरेको छ। लाहोरको जमान पार्कस्थित घरबाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। प्रहरीले डोजर चलाएर इमरान खानको घरको ढोका फोडेर भित्र प्रवेश गरेको हो।
त्यसक्रममा घरभित्रबाट गोली चलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पूर्वप्रधानमन्त्री खानको घरभित्र रहेका उनका कार्यकर्ताले प्रहरीमाथि गोली चलाएको प्रहरीको दाबी छ।
यस्तै, इस्लामावादस्थित अदालततर्फ जाँदै गर्दै खानको टोली दुर्घटनामा समेत परेको छ। यद्यपि, उनी अदालत पुगिसकेका छन्। खानले सरकारले आफूलाई पक्राउ गर्न खोजेको दाबी गर्दै आएका छन्। यसअघि उनी शुक्रबार साँझ लाहोर हाइ कोर्ट पुगेका थिए। अदालतले उनलाई जमानत दिएको थियो।
मार्च १४ मा उनलाई पक्राउ गर्न प्रहरी उनको घर पुगेको थियो। तर प्रहरीले उनलाई नियन्त्रणमा लिन असफल भयो। त्यसक्रममा इमरान खानको पार्टी पाकिस्तान–तहरीक–ए–इन्साफ ९पीटीआई०का कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
सरकारले खानमाथि दर्जनौँ मुद्दा दर्ता गरेको छ। उनीमाथि तोषाखानामा जम्मा गिफ्ट कम रकममा किनेर बढीमा बेचेको आरोप छ। यसलाई लिएर पाकिस्तानको निर्वाचन आयोगले उनलाई पाँच वर्षका लागि चुनाव लड्न अयोग्य घोषित गरेको थियो। साथै उनको सांसद पदसमेत खारेज गरिएको थियो।
आयोगको उक्त निर्णयविरुद्ध पीटीआईका कार्यकर्ताले आयोगअघि विरोध चर्काएका थिए। जसमा केही व्यक्ति घाइतेसमेत भएका थिए। उक्त घटनापछि उनीविरुद्ध पक्राउ गर्न वारेन्ट जारी भएको थियो।