काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) ले निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचबारे आफूखुसी व्याख्या गरेको आरोप लगाएको छ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि निर्वाचन आयोगले फरक समुदायको महिला हुनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको छ। जसपाले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। संविधान भन्दा फरक तरिकाले व्याख्या गर्न आयोगले नपाउने जसपा सांसद प्रदीप यादवले सेतोपाटीलाई बताए। ‘हामीले संविधानको भावना अनुसार उम्मेदवार तय गरेका हौ। यसमा आयोगले गलत तरिकाले व्याख्या गर्न मिल्दैन’, उनले भने, ‘संविधानले फरक समुदायको व्यक्ति हुनैपर्ने भनेको हो। तर फरक लिंग भनेको छैन।’
जसपाले उपराष्ट्रपतिको उम्मेदवार बनाएका रामसहाय प्रसाद यादव बारा क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्। रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने तयारी गरेका छन्। ८ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति दिने सहमति भएको थियो। यद्यपि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जसपालाई उपराष्ट्रपति दिनेबारे औपचारिक सहमति नभएको दाबी गरेका छन्।