मोरङ – मोरङको जहदा गाउँपालिकास्थित लक्ष्मी स्कुलले विराटनगर हव अन्तरस्कुल महिला क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा सोमबार सम्पन्न उपाधि भिडन्तमा लक्ष्मी स्कुलले विराटनगरको महेन्द्र स्कुललाई १० विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको महेन्द्र स्कुलले निर्धारित १५ ओभरको खेलमा ६ विकेट गुमाएर ७० रनको सामान्य लक्ष्य पेश गरेको थियो। महेन्द्रका लागि स्नेहा सहनीले सर्वाधिक ८ रन बनाएकी थिइन्। महेन्द्रलाई औषत योगफलमा रोकेको लक्ष्मीका लागि खुशी राजवंशीले ४ विकेट आफ्नो पक्षमा पार्न सफल भइन्। ७१ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको लक्ष्मी स्कुलले विकेट नगुमाई जित सुनिश्चित गरेको थियो। लक्ष्मीलाई उपाधि दिलाउने क्रममा वेदिका राजवंशी र खुशी राजवंशी अविजित थिए। यसक्रममा वेदिकाले अविजित २४ र खुशीले अविजित २२ रन जोडेकी थिइन्। प्रतियोगितामा विराटनगर महानगर र जहदा गाउँपालिकाभित्रका ६ वटा सामुदायिक विद्यालयको सहभागिता थियो। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित प्रतियोगिता शनिबारबाट सुरु भएको थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडि सरस्वती स्कुलकी पुर्णीमा राजवंशी, उत्कृष्ट ब्याटर सरस्वतीकी पे्ररणा पासवान, उत्कृष्ट बलर जहदाकी खुशी राजवंशी, उत्कृष्ट विकेटकिपर महेन्द्रकी अम्विका राजवंशी र उखयमान खेलाडि जहदाकी फुलकुमारी राजवंशी घोषित भएको आयोजक नेपाल क्रिकेट फाउण्डेशनका प्रबन्धक अभिषेक श्रेष्ठले जानकारी दिए। विजयी तथा अन्य खेलाडीलाई नेपाल खेलकुद महासंघका अध्यक्ष कृष्णबहादुर बस्नेत, क्रिकेट विथआउट बाउण्ड्रीकी प्रतिनिधि सारा वेग, नेकोस क्रिकेट संघका अध्यक्ष विप्लव घोषलगायतले पुरस्कार वितरण गरेका थिए।