जनकपुरधाम – धनुषामा राजदेवी माताको मूर्ति एवं गरगहना चोरी गरेको आरोपमा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ। गत आइतबार राति जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया स्थित राजदेवी मन्दिरको ताला तोडी देवीको चाँदीको मूर्ति, मुकुटलगायतका गरगहनाहरु चोरी भएको गरेर लगेकोमा उनीहरुलाई पक्राउ गरि शनिबार सार्वजनिक गरिएको छ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले मन्दिरमा लागेको सिसिटिभी फुटेज तथा भिडियोहरुको सुक्ष्म विश्लेषण गरी हुमन इन्टेलिजेन्सको सहायताले चोरीमा संलग्न पाँचजनालाई नियन्त्रणमा लिएको बताए।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ ५ महेन्द्रनगरका ३७ वर्षीय रजाक मोहमद, विदेह नगरपालिका ४ सुन्दरपुरका २१ वर्षीय मोहमद हबगुल्लासाह, कमला नगरपालिका ७ हथमुन्डाका २२ वर्षीय रमेशकुमार महतो, विदेह ४ का २२ वर्षीय नर्सुदिनसाह र ३० वर्षीय सरिफ मुसलमान रहेका छन्।
प्रहरीले सरिफ मुसलमानलाई नियन्त्रणमा लिई उसको सूचनाको आधारमा भारत भाग्न लागेका अन्य व्यक्तिहरुलाई गएराति जनकनन्दिनी गाउँपालिका ३ महुवा स्थित भारतीय सीमा नजिक रेल्वे ट्रयाकको बाटो भएर भाग्दै गर्दा नियन्त्रणमा लिएको प्रवक्ता गौतमले बताए।
प्रहरीले उनीहरुको साथबाट पेस्तोल १ थान र त्यसमा लाग्ने गोली १ थान समेत बरामद गरेको छ। यस्तै, चाँदीको मूर्तिको टुक्रा र मुकुटको टुक्रागरी करिब २ केजी चाँदीको गरगहना उनीहरुको साथबाट बरामद गरिएको छ भने सरिफको घरबाट चरेशको थाल ७ थान, हम्मर १ थान, कमण्डल १ थान, दविया ३ थान, खुकुरी १ थान, हाक्सो ब्लेड १ थान, पासपोर्ट, परीक्षा प्रवेश पत्र बरामद गरेको छ।
यस्तै, तामाको मरअंकित वस्तु १ थान, पित्तको कसौडी १ थान, पित्तलको सानो लोटा, गिलास, दियो, तामाको गिलासहरु, फलामको छेनी, घन, सलाई रिन्च, खन्ती लगायतको सामग्री बरामद गरेको छ।