काठमाडौं । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरी भूतपूर्व गोर्खा मुद्दा टुंग्याउन आग्रह गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष गाहामगरले प्रधानमन्त्रीसँग वंशजको नेपाली नागरिकता निरन्तरता, संघको विवादआदिबारे पनि कुराकानी भएको बताए ।
उनले प्रधानमन्त्रीलाई आफ्ना माग समेटिएको एक ज्ञापनपत्र समेत बुझाएका छन् ।
आफैं भूतपूर्व ब्रिटिश सैनिक रहेका उनले प्रधानमन्त्रीसमक्ष भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि सुरु भएको बेलायत र नेपाल सरकार ९जीटुजी० वार्ता छिट्टो टुंग्याउन पहल गरिदिन आग्रह गरेको जनाए ।नेपाल, बेलायत र भारत सरकारबीच त्रिपक्षीय सन्धिमार्फत भर्ती भइ बेलायत, हङकङ र सिंगापुरमा सेवा गर्न पठाइएका गोर्खाहरु विदेश बसेको वा विदेशी नागरिकता लिएकै कारण उनीहरुको वंशजको नेपाली नागरिकता सधैंका लागि नखोसियोस् भन्ने माग समेत राखेको उनले बताए ।
भेटका क्रममा गाहामगरले एक उच्चस्तरीय समिति गठन गरी संविधानमा भएको नागरिकता सम्बन्धी व्यवस्था संशोधन गर्न समेत अनुरोध गरेका छन् । आफूहरुको माग सम्बोधनका लागि प्रधानमन्त्री दाहालले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

