मोरङ – सशस्त्र प्रहरी बल एपीएफले सुनसरीबाट २८ किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख प्रहरी नायब महानिरीक्षक कमल गिरीका अनुसार बिहीबार राति सुनसरीको हरिनगरा गाउँपालिका–७ बाट २८ किलो १ सय ४० ग्राम गाँजा बरामद भएको हो।
भारतसँग सीमा जोडिएको गाउँपालिकामा राति ट्र्याक्टरमा फल्स बटम बनाएर गाँजा ओसारपसार गरिरहेको अवस्थामा सशस्त्रको मोटरसाइकल गस्तीको टोलीले चेक गर्ने क्रममा बरामद गरेको हो।
प्रहरीका अनुसार राति देवानगन्ज–घुस्की सडकखण्डअन्तर्गत देवानगन्ज पुलनजिकबाट गाँजा बरामद गरिएको हो। सशस्त्रको टोलीले गाँजा ओसारपसारमा प्रयोग गरिएको को.२ त ७९९३ नम्बरको ट्र्याक्टर र चालक २० वर्षीय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीका अनुसार बोरामा प्याक गरिएको गाँजा ट्र्याक्टरको ट्रलीमुनी ‘फल्सबटम’ बनाएर लुकाईछिपाई ओसारपसार गरिरहेको अवस्थामा फेला परेको हो।


