काठमाडौँ – विराटनगरमा लागुऔषध खैरो हेरोइन ओसारपसारका क्रममा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्।
विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका अनुसार विराटनगरको रानीस्थित १ नम्बर ढाटबाट असई घनश्याम लाखे १ दशमलव ५२ ग्राम हेरोइनसहित पक्राउ परेका हुन्। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले इलामको कर्फोकस्थित प्रहरी चौकी दरबन्दी भई इलामकै मंगलबारे प्रहरी कार्यालयमा कार्यरत लाखेलाई भारतको जोगबनीबाट विराटनगर आउँदै गर्दा पक्राउ परेको बताए।
बिहीबार अपराह्न साढे ४ बजे प्रदेश १–०३–००१ प १३५९ नम्बरको मोटरसाइकलमा आएका ३० वर्षीय लाखेलाई शंका लागेर चेक गर्ने क्रममा लागूपदार्थ बरामद भएको प्रवक्ता राईले जानकारी दिए।
लाखेको घर उदयपुरसिथत कटारी नगरपालिका भएको खुलेको छ। प्रहरीले लाखेसंगै मोटरसाईकलमा सवार इलामको माङ्सेबुङ गाउँपालिका–२ का २३ वर्षीय मनोज अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका दुवैजनालाई लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रवक्ता राईले बताए।
यसअघि खैरो हेरोइन ओसारपसारमा मंगलबार नेपाल प्रहरीका सहायक हवल्दार अमरनाथ यादव पक्राउ परेका थिए। १ दशमलव २० मिलिग्राम खैरो हेरोइनसहित विराटनगर १५ का नजाम खान पक्राउ परेपछि खानले खैरो हेरोइन सहायक हवलदार यादवले मगाएको बताएका थिए।


