काठमाडाैं । ११ दिन निरन्तर उकालो लागेको शेयर बजार बुधबारबाट भने घट्न थालेको छ । बुधबार २१ अंकले घटेको नेप्से बिहीबार पनि ४१ अंकले घटेर २१४९.४१ अंकमा पुगेको हो । पछिल्लो ११ दिनको कारोबारमा नेप्से ४ सय अंकले बढिसकेपछि बुधबारबाट भने बजारमा करेक्सन देखिएको छ ।
बिहीबार नेप्से सूचकसँगै कारोबारमा आएका १ सय ८४ कम्पनीको शेयर मूल्य घटे पनि कारोबारमा भने कमी देखिएको छैन । बिहीबार २ सय ५२ कम्पनीको १ करोड ४४ लाख कित्ता शेयर ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको हो । इन्भेस्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार लामो नेप्सेको वृद्धिपछि बजारमा छोटो नाफा लिएर निस्किने प्रवृत्ति भएको बताउँछन् । जसका कारण ११ दिन बढेको बजारला बुधबारबाट भने बिक्री चाप बढ्न थालेको छ ।
लामो समयदेखि हरियो बजारको पर्खाईमा रहेका लगानीकर्ता सरकार परिवर्तन भएसँगै उत्साहित बन्न पुगेका थिए । त्यसपछि निरन्तर पुँजीबजारमैत्री निणर्य र अभिव्यक्ति आएपछि हलक्क बढेको बजारमा लगानीकर्ताले सर्टटर्म प्रोफिट बुक गर्न थालेका हुन् ।
छोटो समयको लाभ लिनेको चाप बढ्दा पनि हिजो र आज बजारमा रातो रङ देखिएको छ । राताम्मे बजारमा १ सय ८४ कम्पनीले गुमाउँदा २१ कम्पनीले भने कमाएका छन् । जसमा सिँगटी हाइड्रोपावर र कुमारी धन्यवृद्धि योजनाको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
कारोबारमा भने आज पनि शिवम् सिमेन्ट अगाडि देखिएको छ । यो कम्पनीको २२ करोडको शेयर कारोबार हुँदा रिडी हाइड्रोको १७ करोडको शेयर कारोबार भएको हो ।


