काठमाडौँ –सुकुम्बासी समस्या समाधानका लागि तीन तहको सरकारको समन्वय र सहकार्य आवश्यक रहने प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बताएका छन्।
मंगलबार विराटनगर–१२ स्थित बस्ती महानगर आवास परियोजनामा आयोजित कार्यक्रममा मन्त्री कार्कीले महानगरलाई सुकुम्बासीरहित बनाउनका लागि सरकारको प्रयास अधिकतम भइरहेको बताए।
कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले तीनै तहको सरकारबीच समन्वय र सहकार्यबाट विराटनगरलाई सुकुम्बासीरहित महानगर बनाउने उद्घोष गरे।
मेयर कोइरालाले ५ वर्षमा १४ हजार सुकुम्बासीको व्यवस्थापन गर्ने लक्ष्य राखेको जानकारी दिए। मेयर कोइरालाले भने, ‘निर्वाचनका समय सुकुम्बासी समस्या समाधान गर्छु भनेको थिए। यस कार्यमा लागि रहेको छु। यसै बस्तीमा ३ सय परिवारको व्यवस्थापन हुनेछ। अर्कोतर्फ अझै पनि महागनरले १३ हजार ७ सय परिवारका लािग घर निर्माण गरिदिनुपर्ने हुन्छ।’
विगत २ वर्षदेखि सुरु भएको परियोजनाअन्तर्गत सम्पन्न वस्तीमा १ सय ४५ वटा घर निर्माणको कार्य अन्तिम चरणमा रहेको छ। घर निर्माणका लागि महानगरपालिका, प्रदेश सांसद कोष, ह्याविट्याट र उपभोक्ताको आर्थिक लगानी तथा सहारा नेपालको प्राविधिक सहयोग रहेको छ।
प्रतिपरिवार १० धुर जग्गामा घर निर्माण भइरहेको छ। एउटा घर निर्माणमा ५ लाख १० हजार लाग्ने लगत स्टिमेटमा उल्लेख छ। हालसम्म ९७ लाखमा उपभोक्ता (क) र ४४ लाखको लागतमा उपभोक्ता (ग) को निर्माण सम्पन्न भइसकेको छ।


