दाङ । लुम्बिनी प्रदेशसभा स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सरेको छ। मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेशसभाको सबै कामकाज स्थायी राजधानीबाट सुरु भएको प्रदेशसभा सचिव दुर्भकुमार पुनले जानकारी दिए। ‘प्रदेशसभा र सचिवालयको सबै कामकाज स्थायी राजधानीबाट सुरु भएको छ’, प्रदेशसभा सचिव पुनले भने,‘प्रदेश प्रमुखबाट प्रदेश अधिवेसन आह्वान हुन्छ। प्रदेशसभा बैठक बस्नुअघि शपथ ग्रहण राख्छौँ।
हाम्रो ध्यान यतातिर छ।’ अबको प्रदेशसभा बैठक र नव निर्वाचित प्रदेशसभा सदस्यको शपथ यही राख्ने योजना छ। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कामकाज स्थायी राजधानीबाट गर्न थालिएको यसअघि नै जानकारी गराएको थियो। प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा आइसकेका छन्। मुख्यमन्त्री कुलप्रसाद केसीले निर्माण पूरा भएको प्रदेशसभा भवनको स्थलगत जानकारी लिएका छन्।
प्रदेशसभा भवन तयार भएको र अबको प्रदेशसभा बैठक यही आयोजना गर्ने विषयमा उनले स्थलगत अनुगमन गरेका हुन्। संवैधानिक व्यवस्थाअनुसार पुस २१ भित्र प्रदेशसभाको बैठक बस्ने छ। १५ गते देखि २१ गतेको बीचमा शपथ ग्रहण राखिने छ। प्रदेशसभाको बैठक आयोजनाको दिनलाई उत्सवको रूपमा मनाउनेगरी तयारी गरिएको प्रदेशसभा सचिव पुनले जानकारी दिए। ‘संघीयता कार्यान्वयनको लागि लुम्बिनीले अग्रणी भूमिका खेलेको छ’, उनले भने, ‘स्थायी राजधानीमै सदन सञ्चालन गर्न आफ्नै भवन समेत तयार पार्याैँ। अब यहीबाट संसदीय अभ्यास हुन्छ।’ ५ करोड २० लाखमा प्रदेशसभा भवन तयार भएको छ।
लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ। प्रत्यक्ष ५२ र समानुपातिक ३५ प्रदेशसभा सदस्य निर्वाचित छन्। एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादीका ३, राष्ट्रिय जनमोर्चाका एक, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र ३ जना प्रदेशसभा सदस्य छन्।


