काठमाडौं । सत्तारुढ गठबन्धन टुटिसकेको छ । तर यसको अपजश कसले लिने भनेर लडाईं चलिरहेको छ । बालुवाटारको वार्ता छाडेर हिंडेपछि सत्तारुढ गठबन्धन टुटेको अर्थमा धेरैले लिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लाई निर्वाचनकै बेलामा कांग्रेसको एउटा हिस्साले आफ्ना उम्मेदवारहरुलाई मत नदिएर घण्टी, हलोसहित अरुलाई भोट दिएर हराएको निश्कर्ष छ । नेकाको एउटा हिस्साले निर्वाचनबाट नै गठबन्धन तोडिसकेका थिए । निर्वाचनको परिणामले नै नेकासँगको गठबन्धन गलत प्रमाणित भइसकेको निश्कर्ष वाम विश्लेषकहरुले गरेका छन् ।
घण्टीसँग अघोषित साँठगाँठ गरेका नेपाली कांग्रेसका केही नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनु पर्ने मत राखिरहेका छन् । पहिला गगन थापाले यो मत राखे भने पछ्रिल्लो समय विश्वप्रकाश शर्माले राखे । यिनीहरु गैरकम्युनिस्टको सरकार बनाउनमा सक्रिय छन् ।
केपी ओलीसँग व्यक्तिगत पूर्वाग्रह राख्ने एकथरि माधव नेपाल पक्षका नेताहरु पनि यो लाइनमा उभिएका छन् । उनीहरु नेकाको नेतृत्वमा सरकारमा जानुपर्छ र कांग्रेसले राखिदिएको ठाउँमा बस्नुपर्छ भन्ने मत राख्छन ।
सरकारको नेतृत्वको कुरा विशुद्ध व्यक्तिसँग मात्र जोडिएको होइन । यो त विचारसहित आएको विषय हो ।
नेकाको नेतृत्व र वामको नेतृत्वको कुरासँग विचार र कार्यक्रम पनि जोडिएको हुन्छ । पछिल्लो डेढ वर्षको अवधिमा देउवाको नेतृत्वको सरकारले कुनै खास काम गर्न सकेन । यसैगरी दुई वर्ष यो सरकारले नेतृत्व गर्ने हो भने देश नै असफल हुने कांग्रेसभित्रका नै धेरैले मत राखेका छन् ।
‘देउवाको नेतृत्वको सरकारमा फेरि पनि जानु भनेको गलत कामको किनाराको साक्षी बन्नु हो, सके अन्य विकल्पका लागि ढोका खोलेर जाने नभए फ्लोरमा नै बस्दा हुन्छ’, ती वुद्धिजीवीको भनाइ रहेको छ ।


