काठमाडाैं । सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त हुन लागेका सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई कारागारले अध्यागमन विभागलाई बुझाउने भएको छ।
केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका उनलाई कैदमुक्त गरी आजै अध्यागमन विभागलाई बुझाउने तयारी रहेको जेलर ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए। अहिले नै उनी छुटिसकेका भने छैनन्।
भक्तपुर जिल्ला अदालतबाट उनलाई छाड्न पत्र नआएको हुँदा उनी कैदमुक्त भइसकेका छैनन्।‘हामीलाई भक्तपुरबाट चिठी आएको छैन। चिठी आएपछि अध्यागमन विभागलाई बुझाउछौं,’ जेलर पाण्डेले भने।
अध्यागमनलाई बुझाएसँगै उनलाई जतिसक्दो छिटो फ्रान्स पठाउने तयारी छ। यद्यपि अध्यागमनलाई उनी छुट्ने जानकारी पाए पनि कहिले छुट्छन् भन्ने पत्र नआएको अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले जनाए।
‘हामीले पनि हल्लाहरूमात्रै सुनेका हौं। कारागारले ती व्यक्तिलाई यहाँ ल्यायो भने प्रक्रिया पुर्याएर डिपोर्ट गर्छौं,’ उनले भने। उनलाई टिकट काट्नको लागि केही समय लाग्न सक्ने तर सक्दो छिटो डिपोर्ट गर्ने प्रक्रियामा अघि बढ्ने उनले जनाए।
‘टिकटको लागि केही दिन लाग्न सक्छ। एकदम छिटो टिकट म्यानेज गर्न भन्न पर्छ। त्यसपछि डिपोर्ट गर्छौं,’ उनले भने,‘कारागारले अहिलेसम्म हामीसँग समन्वय गरिसकेको छैन। प्रक्रिया सकेपछि पनि बुझाउँछ होला।’
टिकट नभएसम्म उनी अध्यागमनकै निगरानीमा रहने पनि उनले जनाए । यस्तै शोभराजलाई फ्रान्स पठाउँदा त्यहाँबाट पनि फिर्ता पठाउला कि भन्ने पनि प्रश्न उठेको छ। यसबारे पनि छलफल भइरहेको उनले जनाए।
‘अहिले समस्या त्यही छ। हामीले पनि छलफल गरिरहेका छौं। मन्त्रालयका सचिव, मन्त्रीजीसम्म पनि छलफल होला,’ उनले भने, ‘त्यस्तो भइहाले पनि समन्वय गरी पूर्व तयारी गरेर नै पठाउनुपर्छ भनिरहेका छौं।’ बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई कैदमुक्त गर्न आदेश दिएको हो। उनी १९ वर्षदेखि केन्द्रीय कारागार जगन्नाथ देवलमा कैद सजाय भुक्तान गरिरहेका छन्।
शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले कानुनअनुसार सुविधा पाउनुपर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको मुद्दा हालेका थिए।
जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। जेलभित्र असल चालचलन भएका ७५ वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो। उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ।
उनलाई कारागारभित्रको पनि गोलघर (एकान्तवासमा) राखिएकोमा सर्वोच्चले टिप्पणी गरेको छ। १९ वर्ष कैद सजाय भोगिसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानूनप्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र निजको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावास विरूद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ।
‘निजलाई निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवअधिकार मापदण्ड संविधान तथा कानुनप्रदत्त अधिकार अनुकूल देखिएन,’ सर्वोच्चको आदेशमा उल्लेख छ, ‘बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ। अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडिदिन र १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिदिएको छ।’
सन् १९७५ (विक्रम संवत २०३२) मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए।
हत्यापछि फरार भएका शोभराज २०६१ सालमा काठमाडौं आएका थिए। त्यही बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेपछि काठमाडौं र भक्तपुर जिल्ला अदालतमा हत्या मुद्दा अघि बढेको थियो।
दुवै अदालतले उनलाई फरक/फरक समयमा जन्मकैद हुने फैसला सुनाएका छन्। काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। जिल्ला अदालतले उनलाई गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो।
उनी पक्राउ परेपछि अहिलेसम्म उनले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन्। उनलाई २०८० साल असोज १ गते सम्म कैद राख्नुपर्ने पूर्जी अदालतले जारी गरेको थियो। सर्वोच्चले भने वृद्ध, मुटु रोगी भएको र मानवअधिकार मापदण्डविपरीत एकान्तवासमा राखिएको भन्दै सर्वोच्चले कैदमुक्त गर्ने आदेश दिएको हो।


