काठमाडौं । नयाँ सत्ता समीकरणको बहस भइरहेको समयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनबीच छलफल भएको छ। राप्रपाका अध्यक्ष लिङ्देनले मंगलबार राति बालकोटमा पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन्।
दुई नेताको भेटमा नयाँ सत्ता समीकरण,भावी रणनीति र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको लिङ्देननिकट स्रोतले भन्यो। मंसिर ४ गते भएको निर्वाचनमा एमाले र राप्रपाले केहि स्थानमा तालमेल गरेका थिए। मंगलबार नै नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीमा अध्यक्ष राजेन्द्र लिङ्देन निर्विरोध दलको नेतामा चयन भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले पौष १० गतेभित्र नयाँ सरकार गठनको आह्वान गरेसँगै एमालेले शीर्ष नेताहरुसँग छलफल अगाडि बढाएको हो। मंगलबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री बन्न औपचारिक रुपमा प्रस्ताव गरेका थिए।
केही दिनअघि माओवादीले नै सत्ता सहकार्यका लागि एमालेसँग औपचारिक प्रस्ताव गरेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवालाई गलाउने रणनीतिका साथ अगाडि बढेका प्रचण्डले महासचिव देव गुरुङलाई दूतका रूपमा बालकोट पठाएका थिए। गुरुङले सत्ता सहकार्यका विषयमा एमाले अध्यक्ष ओलीसँग राय मागेका थिए। देशमा स्थिर सरकार निर्माणका लागि ‘वाम शक्ति’ अपरिहार्य रहेको भन्दै गुरुङले सत्ता सहकार्यका लागि औपचारिक प्रस्ताव गरेका थिए। सोही प्रस्तावको जवाफसहित मंगलबार नेम्वाङले प्रधानमन्त्रीको प्रस्ताव लिएर खुमलटार पुगेका हुन्।
‘एमाले-माओवादी’ सत्ता सहकार्य गर्दा नेम्वाङले दुई शर्तसमेत अगाडि सारेका थिए। उनले राष्ट्रपति एमालेले पाउनुपर्ने र माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई गठबन्धनमा समावेश नगर्ने शर्त प्रचण्डसँग राखेका थिए। दुई शर्त माने एमाले अन्य पदको बाँडफाडमा पनि लचकता देखाउने नेम्वाङले प्रस्ताव गरेको खुमलटार स्रोतले जानकारी दियो।
‘एमाले तपाईं(प्रचण्ड)लाई प्रधानमन्त्री मान्न तयार छ। तपाईं प्रधानमन्त्री बन्नुहोस्, एमाले राष्ट्रपतिमा मान्न तयार छ,’ दुई नेताबीचको सम्वादलाई उद्दृत स्रोतले भन्यो, ‘बाँकी पदहरू एमाले-माओवादीका शीर्ष नेता बसेर सहमतिमा बाँडफाड गरौंला। देशलाई स्थितरतातर्फ लैजान राजनीतिलाई नयाँ कोर्षबाट अगाडि बढाऔं। तर अहिले एसबिनाको गठबन्धन बनाऔं।’
सत्ता गठबन्धनभित्र शेरबहादुर देउवा र प्रचण्डले प्रधानमन्त्रीको दावी गरिरहेका छन्। निर्वाचन अगाडि देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने बचन दिएपनि हाल औपचारिक रुपमा सत्ता समीकरण र भावी प्रधानमन्त्रीको बारेमा सत्ता गठबन्धनमा छलफल नभएपछि एमाले गठबन्धनलाई टुटाएर नयाँ समीकरण बनाउन प्रयासरत रहेको छ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ। कांग्रेस र एमालेबाहेक कुनै पनि दुई दल मिल्दा बहुमत पुग्ने अवस्था छैन। कांग्रेसले ८९ एमालेले ७८ सिट जितेका छन्। माओवादीले ३२, रास्वपा २०, राप्रपा १४, जसपा १२, एकीकृत समाजवादी १०, जनमत ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १/१ सिट जितेका छन्। स्वतन्त्रले ५ सिट जितेका छन्।


