काठमाडौँ – नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वभाविक हुने तर्कसमेत गरे।
महतले भने, ‘संसदमा सबै भन्दा ठूलो दलको हैसियत नेपाली कांग्रेसले प्राप्त गरेको छ। र, गठबन्धनमा पनि हाम्रो फराकिलो अन्तरले ठूलो दलको हैसियत छ। त्यसअर्थमा स्वभाविक रुपमा नेपाली कांग्रेसको प्रधानमन्त्री हुने कुरालाई देशले, जनताले सबैले स्वभाविक रुपमा लिन्छन् भन्ने हाम्रो दृष्टिकोण छ।’
प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्नेमा कांग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क छन्। उनले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औंल्याउँदै सोही बाटोमा मुलुक अघि बढ्ने बताए। नेता निधिले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ। र, हाम्रो चाहना पनि हो।’
सांसद दीपक खड्काले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धन दलहरुबीचमा सहमति जुट्ने बताए। उनले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने अवस्था रहेको बताए।


