विश्वकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त साविक च्याम्पियन फ्रान्स र दुई पटकको विश्व विजेता अर्जेन्टिनाबिच हुने भएको छ। बुधबार राति कतार स्थित अलबायत स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले अफ्रिकन टोली मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। फ्रान्स विश्वकपको लगातार दोस्रो संस्करणमा फाइनलमा पुग्ने छैटौं टिम बनेको छ।
युरोपियन जायन्ट फ्रान्सले समग्रमा चौंथो पटक विश्वकपको फाइनलमा स्थान बनाएको हो। यसअघि फ्रान्सले १९९८, २००६ र २०१८ मा विश्वकपको फाइनलमा स्थान बनाएको थियो। जसमा फ्रान्स १९९८ र २०१८ मा च्याम्पियन बनेको थियो।
बुधबार खेल अवधिभर अफ्रिकन टोली मोरक्कोले साविक विजेतामाथि दबाब बढाएपनि फिनिसिङमा चुक्दा अर्को नयाँ इतिहास बनाउने अवसरबाट अफ्रिकन टोली बञ्चित भयो। तर सिमित अवसरमा फ्रान्सले गोल गर्दै खेल आफनो पक्षमा पार्यो। मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्दै इतिहास बनाएको थियो।
खेलमा फ्रान्सले पाँचौ मिनेटमै अग्रता बनाएको थियो। फ्रान्सका लागि थियो हर्नान्डेजले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यसपछि फ्रान्स पहिलो तथा दोस्रो हाफको अधिकासं समय मोरक्को सँग दबाबमा रह्यो। तर उसले ७९ औ मिनेटमा पाएको अर्को एक मौकालाई सदुपयोग गर्दा सहज जित तर्फ अग्रसर भएको थियो।
फ्रान्सका लागि रोन्डो कोनो मुलियोले केलियन एम्बाप्पेको पासालई सदुपयोग गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए। जारी विश्वकपमा मोरक्कोले पहिलो पटक विपक्षी टिमबाट गोल ब्योहोरेको हो। यसअघि उसले समूहचरणमा क्यानडा विरुद्धको खेलमा एक गोल आत्माघाती गोलका रुपमा खाएको थियो। सम्रमा उसले विश्वकपमा तेस्रो गोल खाएको हो।
अब साविक च्याम्पियन फ्रान्स लगातार दोस्रो उपाधिका लागि दक्षिण अमेरिकी प्रतिद्वन्दी अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ। मोरक्कोले भने तेस्रो स्थानका लागि क्रोएसियाको सामना गर्ने छ। अर्जेन्टिनाले पहिलो सेमिफाइनल भिडन्तमा साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।