काठमाडौं । पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने तयारी गरेको छ ।
पार्टीभित्र भइरहेको छलफलमा पनि रास्वपा सरकारमा जाने विषयमा कुराकानी भइरहेको एक नेताले सार्वजनिक गरेका छन् ।
जनताका पक्षमा काम गर्ने गरी सरकारमा सहभागी हुन तयार भएको रास्वपाका महामन्त्रीसमेत रहेका प्रवक्ता डा। मुकुल ढकालले जानकारी गराएका छन् ।
उनले विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डामा कुरा मिले सरकारमा सहभागी हुन तयार भएको जनाए ।
“हामी मन्त्रीमा होइन एजेन्डामा भागबण्डा हुनेगरी कुरा मिल्यो भने सरकारमा सहभागी हुनेछौँ,” प्रवक्ता ढकालले सञ्चारसँग भने, “उदाहरणका लागि सयवटा कानुन बनाउँदा रास्वपाको प्रस्तावमा पाँचवटा कानुन आउनुपर्यो । मन्त्रिपरिषद्ले पारित गर्ने सय एजेन्डामध्ये १० वटा एजेन्डा रास्वपाको प्रस्ताव अनुरुप हुनुपर्यो ।”
उनले त्यस्तो गर्ने सहमति भयो भने जनताको पक्षमा काम गर्नेगरी रास्वपा सरकारमा सहभागी हुने तयारी गरेको जानकारी गराए ।
नयाँ सरकार गठनका क्रममा माओवादी एमाले होस् वा कांग्रेस माओवादी वा कांग्रेस एमाले र मधेस केन्द्रित जुनसुकै दलकाबीच पनि सरकार गठनअघि हुने सहमति सम्झौतामा जनताकै लागि काम गर्ने गरी सम्झौता गर्ने र त्यसलाई सार्वजनिक गरेर सरकारमा सहकार्यको औचित्व पुष्टि गरिने उनीहरुको धारणा छ ।
प्रवक्ता ढकालले अब उधारो सम्झौता गरेर जनतालाई ढाँट्ने काम बन्द हुनुपर्ने भन्दै दलहरुका घोषणपत्रका राम्रा पक्ष कार्यान्वयनका लागि नियम र संरचना पनि अघि बढाउनेगरी मात्र सरकारमा सहभागी हुने जनाए ।


