काठमाडौं । भक्तपुरका चर्चित युवा गायक कुमा सागर मातृभाषालाई गिज्याउनेमाथि कारवाहीकाे माग राख्दै पुन प्रर्दशन गरेका छन् ।
काठमाडाैं, भक्तपुर, ललितपुर लगायतका नेवाः समाजका अगुवा अभियानताहरुले बिहीबार भद्रकालीदेखि विराेध प्रदर्शन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए । एक पडकास्टमा कुराकानी गर्ने क्रममा गायक सागरकाे गीतलाई लिएर गिज्याएको भन्दै चार जनाविरूद्ध परिसरमा मंगलबार निवेदन परेको थियो।
सम्पदा संरक्षणका महाअभियानका अध्यक्ष सुनिल प्रजापतिकाअनुसार कमेडियनहरू सजन श्रेष्ठ,उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बाविरूद्ध निवेदन दिएका थिए। साेही बुझ्न परिसर पुगेको अध्यक्ष प्रजापतिले जानकारी गराए।
‘हामीले दिएको निवेदनमा के भएको रहेछ भनेर बुझ्न आएका हौं,’ उनले भने, ‘नेवार समुदायमाथि भद्दा मजाक गरेको र त्यसमा उजुरी गर्दा पनि कारबाही प्रक्रिया अगाडि नबढाइएपछि हामी प्रहरी कार्यालय आउन बाध्य भयौं।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले उनीहरू चार जनाविरूद्ध ठाडो निवेदन परेको सम्बन्धमा बुझ्न परिसर आएको जानकारी गराए । ‘हामीले दुईपक्षलाई नै बोलाएर कुराकानी गर्ने तयारी छ। कलाकारहरू उपत्यका बाहिर भएकाले आजै दुईपक्षलाई छलफलमा बोलाउन सकिएन,’ एसपी बोहोराले भने, ‘छिट्टै दुईपक्षलाई बोलाएर छलफल गर्छौं।’


