काठमाडाैं । प्याब्सन बूढानीलकण्ठ र हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको छ ।
बिहीबार आयोजित कार्यक्रममा ग्रासरुट फुटबल कार्यक्रमका लागि हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्याब्सन बूढानीलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको हो । images सम्झौताअनुसार, बूढानीलकण्ठ नगरपालिकाभित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
यो पहलले स्थानीय प्रतिभाहरूलाई पहिचान गरी उनीहरूको खेलकुद कौशललाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ । त्यसैगरी, बालबालिकामा फुटबल खेलप्रति रुचि र सहभागिता बढाउने, विद्यालयस्तरमा फुटबल प्रशिक्षण कार्यक्रममार्फत युवा प्रतिभाको पहिचान र विकास गर्ने तथा आवश्यक खेल सामग्री र प्राविधिक सहयोग प्रदान गर्दै फुटबल संरचना सुदृढ बनाउने मुख्य उद्देश्यहरू भएको जनाइएको छ ।
हिमालयन शेर्पा क्लबले अनुभवी प्रशिक्षकहरू उपलब्ध गराउनुका साथै स्थानीय समुदायमा प्रशिक्षक निकाल्न मद्दत गर्नेछ भने प्याब्सन बूढानीलकण्ठले नगरपालिकाभित्रका विद्यालयहरूमा कार्यक्रम सञ्चालन गर्न समन्वय गर्नेछ ।
बालबालिकाहरूको खेलको स्तर वृद्धि गर्न विभिन्न प्रतिस्पर्धा र विकासमूलक गतिविधिहरूको आयोजना संयुक्त रूपमा गरिनेछ । प्याब्सन बूढानीलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले कार्यक्रम बालबालिकाको समग्र व्यक्तित्व विकास र समुदायमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्त्वपूर्ण हुने जनाए ।
हिमालयन शेर्पा क्लबका अध्यक्ष शेर्पाले साझेदारीले नयाँ प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको बताए । कार्यक्रमले स्थानीय स्तरमा फुटबलको विकास मात्र नभएर समुदायमा खेलकुदको महत्त्वलाई अझ प्रस्ट बनाउने अपेक्षा गरिएको छ ।


