काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)अन्तर्गत आफ्नो दोस्रो खेलमा कर्णाली याक्सले काठमान्डु गुर्खाजलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो।
उसका लागि ओपनर शिखर धवनले ५१ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ७२ रनको अर्धशतकीय अविजित इनिङ खेले।सुरुमा रनका लागि संघर्ष गरेको कर्णालीले डेथ ओभरमा केही समालिएको इनिङ खेल्दा प्रतिस्पर्धात्मक स्कोर बनाउन सफल भयो।
कर्णालीका ओपनर देव खनाल शून्य रनमा आउट हुँदा चान्डविक वाल्टन २१ रनमा आउट भए। त्यस्तै बाबर हायत १३ रन बनाएर पेभिलियन फर्किदा गुल्सन झा १२ रनमा आउट भए। त्यस्तै अर्जुन घर्ट्टी ४ रनमा आउट हुँदा अहिले क्रिजमा जेसन मक्सुद आएका छन्।
काठमान्डुका लागि गेर्हार्ड एरासमसले २ विकेट लिँदा करण केसी, नाथन स्वटर र दिपेश कँडेलले १-१ विकेट लिए।
काठमान्डु गुर्खाज पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो भने कर्णाली पहिलो खेलमा जनकपुर रोएल्ससँग ८ विकेटले सहजै पराजित भएको थियो।
एनपीएलको चौथो दिनको पहिलो खेलमा बुधबार गुर्खाज र याक्सबीचको पहिलो खेल टियु मैदान कीर्तिपुरमा भइरहेको छ।


