काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने जनाएका छन् ।
मन्त्रालयले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने दाबी गरे । गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्नु मुलुकको आवश्यकता भएको र त्यो आवश्यकतालाई जनताले स्वीकृति प्रदान गरिसकेको कार्कीको भनाइ छ ।
सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य चयन भएका कार्कीले जनताको अपेक्षा अनुसार अब बन्ने गठबन्धनको सरकारले मुलुकलाई पाँच वर्षभित्रमा समृद्धिको खाका कोर्ने बताए। पछिल्लो समय मुलुकलाई राजनीतिक स्थिरता चाहिएको भन्दै कार्कीले जनताको अपेक्षाअनुसार मुलुकले विकास र समृद्धिको गतिलाई तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाए। आगामी १० वर्षभित्रमा कम्तीमा दक्षिण एसियाका सम्पन्न देश मध्येमा नेपाललाई पनि पुर्याउने दायित्व रहेको भन्दै उनले त्यसका लागि सबैले इमान्दारिताका साथ काम गर्नुपर्ने बताए।
नेपालको जलस्रोत, पर्यटन, कृषि लगायतका स्रोतसाधनलाई अवसरका रुपमा अधिकतम उपयोग गरेर देशको सर्वाङ्गीण विकासका निमित्त अर्जुन दृष्टि लगाएर काम गर्नुपर्ने उनले बताए । मन्त्री कार्कीले संविधान जारी भएपछि प्रतिनिधिसभाको दोस्रो निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै आगामी पाँच वर्षभित्रमा जनताका अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए ।