काठमाडौं । नेपाल प्रहरीलाई प्रविधिमैत्री र समयानुकूल बनाउन कृत्रिम बौद्धिकता, ड्रोन तथा एन्टि–ड्रोन प्रविधि र ठगी नियन्त्रणका लागि नयाँ संरचना विकास गर्ने योजना अघि बढाइएको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जनाएका छन् ।
शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा बोल्दै कार्कीले अपराध अनुसन्धान र प्रहरी सेवाको प्रभावकारिता बढाउन आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने जनाए ।
‘नेपाल प्रहरीको सुधारमा योगदान पुर्याउने सञ्चारकर्मी, नागरिक समाज, समुदाय र सबै शुभेच्छुकप्रति आभार व्यक्त गर्दछु,’ कार्कीले भने, ‘अमर प्रहरीहरूको बलिदानलाई सम्मान गर्दै नागरिकमैत्री, उत्तरदायी र प्रविधिमैत्री प्रहरी संगठन निर्माण गर्ने प्रतिबद्धता दोहोर्याउँछु ।’
प्रहरी संगठनको प्रभावकारिता कायम राख्न आदेश शृङ्खला, अनुशासन, जवाफदेहिता र आपसी समन्वय आवश्यक रहेको उनले बताए । संगठनलाई थप उत्तरदायी बनाउन सबैको सहयोग र समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।


