काठमाडौं । गत संस्करण विवादित बनेको नेपाल प्रिमियर लिग (एनपिएल)को नयाँ संस्करण आगामी मंसिर दोस्रो साता सुरु हुने भएको छ। प्रतियोगिताको मिति र लोगो क्यानले सार्वजानिक गर्दै यो पटक उच्च स्तरको प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान)को सर्वाधिक प्रतिष्ठा र महत्त्वको विषयका रुपमा रहेको एनपिएल १५ मंसिरदेखि ६ पुससम्म सञ्चालन हुनेछ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरेका थिए।

क्यानका सचिव पारस खड्काले घरेलु क्रिकेटको नयाँ युगको सुरुवातका रुपमा यसलाई अघि बढाउने बताए। उनले एनपिएलले नेपाली क्रिकेटको व्यवसायिकतामा नयाँ आयाम थप्नका लागि कोसेढुंगा सावित हुने बताएका छन्।
उनले भने, ‘नेपालको टी-२० विश्वकपको तयारीका कारण एनपिएलको पूर्वनिर्धारित समयभन्दा केही ढिला हुन गएको छ। तर हामी यो प्रतियोगितालाई उच्च स्तरीय रुपमा अघि बढाउने छौं।’
खेलकुद मन्त्री चौधरीले व्यवस्थित क्रिकेट रंगशाला नभएपनि खेलाडीको मेहनत र क्यानको संघर्षले नेपाली क्रिकेटले विश्वमा चिनाएको बताए। राष्ट्रिय खेलकुद परिषद (राखेप) एनपिएलको आयोजनामा आवश्यक सहयोग गर्न तयार रहेको बताए।
क्यानको अध्यक्ष चतुरबहादुर चन्दले विगतको गल्तीलाई सच्चयाएर अघि बढ्नै यसलाई फरक तरिकाले सञ्चालन गर्ने बताए। नेपाली क्रिकेट टोली हाल भारतीय क्रिकेट बोर्डको सहयोगमा प्रशिक्षणमा रहेको जानकारी दिए। उनले नेपाली क्रिकेट विस्कासका लागि भारतीय विदेश मन्त्री एसजयशंकर र भारतीय दुतावासले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिएका थिए।
क्यानले दुई वर्षअघि भारतीय कम्पनीलाई नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी दिएको थियो। त्यो लिग निकै विवादित बनेपछि क्यानले एनपिएल आफै गर्ने निर्णय गरेको थियो।


