नेपालको महत्वपूर्ण सम्पदामध्ये एक हो, नदीनाला । यही नदीनालाका कारण यहाँ अथाह जलविद्युत्को सम्भावना पनि छ । एकै नदीमा पनि थुप्रै जलविद्युत् आयोजना बनाएर विद्युत् उत्पादन गर्न मात्र सकिने होइन, यही माध्यमबाट नेपाली धनी पनि बन्न सक्छ । तर, हालसम्म भने नेपालले बल्लतल्ल आफूलाई मात्र पुग्ने विद्युत् उत्पादन गर्न सकेको छ । अहिले वर्षायाममा बढी हुने विद्युत् सस्तोमा भारतलाई बेच्दै आएको नेपालले हिउँदमा भने महँगोमा त्यही भारतबाट विद्युत् किन्न विवश छ ।
नेपालको जलविद्युत् आयोजनामा छिमेकी मुलुकको रस्साकस्सी छ । दुई ठूला बजार भारत र चीन हुँदाहुँदै पनि नेपालले पर्याप्त विद्युत् उत्पादन र बिक्री गर्न नसक्नुको कारण पनि यही नै हो । विशेषगरी भौगोलिक कारणले चीनसँग नेपालको व्यापार सहज छैन । अर्कोतर्फ भौगोलिकताको दृष्टिले सहजै व्यापार हुनसक्ने भारतले भने नेपाली उत्पादनलाई सकेसम्म बन्देज लगाउँदै आएको छ । नेपाललाई आफ्नो बजारको रुपमा मात्र भारतले विकसित गर्न खोजिरहेको छ । जलविद्युत् आयोजनामा पनि भारतले यही रणनीति अपनाएको छ । उसले चिनियाँ लगानीमा नेपालमा बनेका जलविद्युत् आयोजनाबाट विद्युत् नै नकिन्ने नीति लिएको छ ।
तर, नेपालले भारतको विकल्पमा चीनसँग पनि विद्युत् व्यापार गर्नसक्ने सम्भावना बढेपछि उसले बंगलादेशसँग विद्युत् व्यापारका लागि सहमति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतले चाँडै नेपालको बिजुली बंगलादेशसम्म पु¥याउन आफ्नो प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ । भारतको बहरामपुरदेखि बंगलादेशको भेरामारासम्म यसभन्दा अगाडि निर्माण गरिएको एक मात्र भारत–बंगलादेश अन्तरदेशीय प्रसारण लाइनमार्फत अहिले भारतले ११६० मेगावाट बिजुली बंगलादेशमा बिक्री गरिरहेको छ । यो प्रसारण लाइनको क्षमता करिब १२०० मेगावाटसम्मको रहेकोले अब थप ५० मेगावाट नेपाली बिजुली उक्त प्रसारणलाइनमार्फत बंगलादेश पुग्नेछ ।
नेपालबाट चीनतर्फ जाने कुनै पनि विद्युत् प्रसारण लाइन बनिसकेको छैन । तर, भारतको रवैयाअनुसार अब नेपालले पनि चीनतर्फ तीव्र रुपमा प्रसारण लाइन निर्माण गर्नुपर्ने देखिन्छ । हालै मात्र चिनियाँहरुले नुवाकोटको रातमाटेदेखि रसुवागढी हुँदै तिब्बत जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माणको लागि चासो दिएको र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको लागि राय–सुझाव माग्ने काम भएको सार्वजनिक भएको छ । चीनतर्फको यो अन्तरदेशीय प्रसारण लाइनले करिब ५००० मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता राख्नेछ । हाल एमसीसी परियोजना अन्तर्गत निर्माण गरिने ४०० केभीको प्रसारण लाइन काठमाडौंबाट नुवाकोट, धादिङ, मकवानपुर, तनहुँ, पाल्पा र परासी हुँदै भारतको गोरखपुर जोडिंदैछ । यो अन्तरदेशीय प्रसारण लाइन नेपालको ३५०० मेगावाट बिजुली भारतमा बेच्नको लागि भनिए पनि डबल सर्किटको यो प्रसारण लाइनमार्फत परासीको बिजुली पाल्पा, तनहुँ, धादिङ हुँदै नुवाकोटको रातमाटे पनि आउँछ । यस्ता प्रसारणलाइनलाई नेपालले गौरवको आयोजनाको रुपमा प्राथमिकतामा राख्न जरुरी छ । यसो हुन सकेमा भारतले नेपालको जलविद्युत् क्षेत्रमा लामो समयदेखि गर्दै आएको अवरोध चिर्न सहयोगीसिद्ध हुनेछ, आगे सबैलाई चेतना भया !