काठमाडौं । टर्कीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै नेदरल्याण्ड्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
बर्लिनस्थित ओलम्पिक स्टेडियममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्डले एक गोलले पछि परेको स्थिति उल्ट्याएर टर्कीलाई २-१ ले हरायो । नेदरल्याण्ड्सको जितमा आत्मघाती गोल निर्णायक बनेको थियो ।
टर्कीका मेरट मुलडुरले ७६ औं मिनेटमा गरेको आत्मघाती गोलमा नेदरल्याण्ड्स विजयी भएको हो । त्यसअघि समेट अकायडिनको ३५औं मिनेटमा गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए ।
खेलकाे पहिलो हाफमा यो अग्रता कायम रहेपनि दोस्रो हाफमा डच टोली खेलामा फर्कियो । ७० औं मिनेटमा नेदरल्याण्ड्सका स्टेफान डे भर्जिलले बराबरी गोल गरे । त्यसको ६ मिनेटपछि नै टर्कीका मुलडुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले २-१ अग्रता बनायो । साेही अग्रता कायम राख्दै नेदरल्याण्ड्स ससेमिफाइनल प्रवेश गरेको हो । अब नेदरल्याण्ड्सले सेमिफाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

