बर्दिया । अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्दै गएको भन्दै स्थानीय तहहरुले बिहान ६ बजे देखि ११ बजेसम्म विद्यालय सञ्चालन गर्न थालेका छन् ।
अत्यधिक गर्मी नरोकिएपछि बिहानी कक्षा सञ्चालन गुलरिया नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयहरुमा विहानी कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ ।
यसअघि गर्मीका कारण जेठ १६ देखि २५ गतेसम्म विद्यालय नै बन्द गरेर बिदा गरिएको थियो । तर अत्यधिक गर्मी नरोकिएपछि सोमवारदेखि विहान विद्यालय सञ्चालन गरिएको गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले बताए । दिउँसोको तापक्रम ४२ देखि ४४ डिग्रीसम्म पुग्ने गरेकोले बालबालिकामा प्रत्यक्ष स्वास्थ्यमा असर पर्दै गएकोले बिहान विद्यालय सञ्चालन गरिएको उनले जनाए ।
पानी परे पुन: दिउँसो १० देखि ४ बजेसम्म विद्यालय सञ्चालन गरिने उनले बताए । विगत लामो समयदेखि अत्यधिक गर्मीसंगै तातो हावा चलिरहेको छ । अत्यधिक गर्मी र ‘लु’ले मानिसहरु बेहोस् हुने, रिँगाटा लाग्ने जस्ता बिरामीहरु उपचारका लागि आउने गरेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुभाष पाण्डेयले जनाए ।


