काठमाडौं । नेवाःहरूको साझा राष्ट्रिय संगठन नेवाः देय् दबू ललितपुर जिल्ला समिति र नेवाः मिसा दबू ललितपुरको संयुक्त आयोजनामा २२ गते आइतबार नेपाल संवत् ११४७ न्हूदँ (नयाँ वर्ष) को अवसरमा आयोजित कार्यक्रममा नेपाल संवत्लाई अब नेपालको नोटमा समेत समेट्नुपर्ने तथा राज्यले नेपाल संवत् सम्बन्धी कानुन बनाउनुपर्ने माग गरिएको छ।
नेपालभाषा मंकाः खलः ललितपुरको ज्याकू (कार्यालय) त्यागलमा आयोजित न्हूदँको कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय महामन्त्री श्रीकृष्ण महर्जन नेवाः विशेष अतिथिको आसनबाट बोल्नुहुँदै उक्त माग गर्नुभएको हो। उहाँले नेपाल संवत्या न्हूदँ ११४७ सुरु हुने दिनभित्र नेपालको नोटमा नेपाल संवत् राख्ने घोषणा सरकारले नगरे त्यसपछि आन्दोलन नै सुरु गर्न तयार रहेको कुरा बताउनुहुँदै नेपालमा हालसम्म पनि संवत् सम्बन्धी कानुन नभएकोले कानुन निर्माण गर्नका लागि नेवाः देय् दबू लगायत सम्पूर्ण नेवाःहरूको संघसंस्था एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, महामन्त्रीले स्वन्ति (तिहार) र न्हूदँको अवसरमा नेवाः देय् दबूको उपत्यका विशेष प्रदेश, उपत्यकाका जिल्ला समितिहरू तथा सम्बन्धित पालिका समितिहरूमा छलफल गरी नेपाल संवत् स्थानीय सरकार लगायत राज्यका विभिन्न निकायहरूले कztसम्म प्रयोग गरिरहेका छन् भन्ने अवस्थाको बारेमा अनुगमन गरी केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउन आग्रह गर्नुभयो। त्यसपछि नेपाल संवत् कार्यान्वयनको बारेमा देय् दबूबाट आफ्ना कार्यक्रमहरू अगाडि बढाइने कुरा उहाँले बताउनुभयो।
नेवाः देय् दबू ललितपुर जिल्लाका अध्यक्ष कृष्णभक्त डंगोलको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय सल्लाहकार डा. पुष्पराज राजकर्णीकारले हालको समयमा नेवाःहरूले पनि नेपाल संवत्लाई निरन्तर प्रयोग गर्दै जानुपर्ने तथा नेपालभाषालाई पनि व्यवहारमा लागु गर्दै जानुपर्ने कुरामा जोड दिनुभयो। त्यसैगरी, नेवाः देय् दबू उपत्यका विशेष प्रदेशका अध्यक्ष नविन थेच्वमिले नेपाल संवत्या महत्त्वको बारेमा प्रकाश पार्दै नेपाल संवत्लाई लागु गर्ने/गराउने तथा नेपालभाषालाई पनि प्रयोग गर्दै लैजानुपर्ने कुरा बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष कुलबहादुर महर्जनले आफूले वडामा नेपाल संवत् लागु गर्दै आएको बताउँदै नेपाल संवत् र नेपालभाषा लगायत नेवाःहरूको कार्यक्रमको निम्ति सधैं नेवाःहरूसँगसँगै वडा कार्यालय रहेको कुरा व्यक्त गर्नुभयो। कार्यक्रममा नेवाः देय् दबू काठमाडौं जिल्लाका अध्यक्ष धनबहादुर महर्जन तिमिला, नेवाः देय् दबू ललितपुर जिल्लाका पूर्वअध्यक्ष तथा नेपालभाषा मंकाः खलः ललितपुरका पूर्वअध्यक्ष हेराकाजि महर्जन लगायतले नेपाल संवत् ११४७ न्हूदँको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
नेवाः देय् दबू ललितपुर जिल्लाका सचिव बुद्धिलक्ष्मी महर्जनले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा ललितपुरका विभिन्न नेवाः समाजका प्रतिनिधिहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेवाः मिसा दबू ललितपुर जिल्लाकी सचिव सरला कर्माचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेवाः देय् दबू ललितपुर जिल्लाका कोषाध्यक्ष अमिर राज महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको थियो।


