काठमाडौँ / पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेतृत्वले आवश्यकताअनुसारको काम गर्न नसक्दा जनता आक्रोशित बनेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता नेतृत्वबाट काम नभएपछि विद्रोही हुँदै गएको र निराश भएको बताए।
उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै सिंहदरबारमा आगो लगाउँछु भन्नेहरुलाई जनताले साथ र स्याबासी दिँदै आएको बताए। उनले नेतृत्वमा देखिएको विकृतिका कारण राप्रपा र रास्वपा पार्टीतिर जनताहरु आकर्षित हुन थालेको उल्लेख गरे।
उनले भने,‘जनता निराश हुँदैछन्। जनता आक्रोशित हुँदैछन्। जनता विद्रोही हुँदैछन्। जनतामा कस्तो भावना आउन थाल्यो भन्दा एउटाले पागलपनका साथ के भन्छ भन्दा मलाई यस्तो गर्ने, म तेरो सिंहदरबारमा आगो लगाउँछु भन्छ। आधा घण्टामा ३० हजारले लाइक गरे। कस्तो अचम्म। स्याबास गर्छन् सिंहदरबार जलाउँछु भन्दा। कस्तो मनस्थिति पैदा हुन थाल्यो देशमा। यो कसले गर्दा भएको? के बालेनले गर्दा हो? त्यो खुकुरी नचाउनेले गर्दा हो? होइन। त्यस्ता चिजहरु किन जन्मिँदैछन् भन्दा यो देशको नेतृत्व अकर्मण्य भयो।’


