मोरङ । जिल्ला अदालत सुनसरीले कृष्णदास सिद्धबाबालाई बलात्कार मुद्दामा सफाइ दिएको छ।
बुधबार अदालतले राय किताबमा अभियोग दाबी नपुगेको जनाउँदै सफाइ दिएको अदालतका तहसिलदार भरतमणि पोखरेलले जानकारी दिए। तहसिलदार पोखरेलका अनुसार न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले अभियोग दाबी नपुग्ने जनाउँदै दासलाई सफाइ दिएको हो।
दासमाथि अनुयायी महिलालाई बलात्कार गरेको आरोप रहेको थियो। २०७६ साल कात्तिक ४ गते राति कृष्णदासले बलात्कार गरेको दाबी अनुयायी महिलाले गरेकी थिइन्।
सोही क्रममा महिलाले सोहीवर्ष मंसिर ११ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि अदालतका तत्कालिन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले कृष्णदासलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।
सुनसरी अदालतमा २०७७ साल मंसिर २२ मा तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो। आरोपी कृष्ण दासलाई सहमतिमा करणी गरेको देखिएकाले बलात्कार नठहरिने फैसला गरेको थियो। अदालतको आदेशमा सन्तुष्ट हुन नसकेकी पीडित महिलाको पक्षबाट सरकारी वकिलको कार्यालयबाट २०७७ फागुन २८ गते विराटनगरस्थित उच्च अदालतमा मुद्दा दायर भएको थियो।
सोही क्रममा जिल्ला अदातलको फैसलाउपर उच्च अदालतले सुनसरी अदालतको फैसला बदर गरेको थियो।
यद्यपि, उच्च अदालतले फैसला बदर गरेपछि मुद्दा पुनः सुनसरी अदालतमा फर्किएको थियो। उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले जिल्लाको फैसला बदर गरेको थियो।
इजलासले पीडित र पीडक पक्षबीच भएको संवाद ‘भ्वाइस कल’को परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको बकपत्र गर्न र पीडित र पीडक पक्षका साक्षीको बकपत्र गर्न र प्रमाणहरु बुझेर पुनः न्याय गर्न आदेश दिएको थियो। यद्यपि, जिल्लाको फैसलाविरुद्ध कृष्ण दास पनि २०७७ चैत २६ गते उच्च अदालतमा पुगेका थिए।