काठमाडौं । नेपालको मित्र राष्ट्र मोरोक्कोमा गत शुक्रबार राति शक्तिशाली भूकम्प जाँदा २ हजार भन्दा धेरै मानिसहरुको ज्यान गएको छ । २ हजार ५१ भन्दा बढी मानिस घाइते भएका छन्।
मोरोक्कोमा ६. ८ रेक्टर स्केलको भूकम्प गएको थियो । सुरुमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६३२ जनाइएको थियो तर पछि यो संख्या बढ्दै गएको छ । संख्या अभैm बढ्ने आशंका गरिएको छ ।
मृतकमध्ये आधाभन्दा बढी अल हाज र तारुदान्ट प्रान्तका रहेका छन्। यसबाहेक मोरोक्कोको ओआरजाजेते, चिचौआ, अजीलाल र युसेफिया प्रान्तका साथै माराकेश, अगादिर र कासाब्लान्का क्षेत्रका मानिसको पनि ज्यान गएको जनाइएको छ ।
स्थानीय सञ्चारमाध्यमले भूकम्पबाट मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि हुनसक्ने जनाएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु पर्यटकीय सहर माराकेशबाट ७१ किलोमिटर दक्षिण—पश्चिममा १८.५ किलोमिटर गहिराइमा थियो। स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा मानिसहरु मस्त निद्रामा रहेको अवस्थामा भूकम्पको धक्का महसुस गरिएको थियो।
मोरोक्कोका आन्तरिक मन्त्रालयका अनुसार यस भूकम्पबाट सबैभन्दा बढी क्षति सहरबाहिर रहेका पुराना बस्तीहरूमा भएको छ।
मोरोक्कोका धेरै नागरिकहरूले सामाजिक सञ्जालमा यससँग सम्बन्धित भिडियो र तस्विरहरू पनि पोस्ट गरेका छन्, जसमा भवनहरू भत्किएपछि धुलोको बादलमा परिणत भएको देख्न सकिन्छ।
मोरोक्कोले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। राजा मोहम्मद छैठौंले प्रकोपबारे छलफल गर्न बैठकको अध्यक्षता गरेपछि राष्ट्रिय शोकको विज्ञप्ति जारी गरिएको थियो।
तीन दिने राष्ट्रिय शोकमा सबै सार्वजनिक भवनमा झण्डा आधा झुकाइने जनाइएको छ ।
भूकम्प प्रभावित मोरोक्कोलाई सहयोग गर्न अल्जेरिया अगाडि सरेको छ। अल्जेरियाले भूकम्प प्रभावित मोरोक्कोमा मानवीय सहायता बोकेका विमानहरूलाई आफ्नो हवाई क्षेत्रबाट जान दिने निर्णय गरेको छ।

यसैबीच नेपालका लागि मोरोक्कोका आवाशीय राजदूत बसन्त चौधरीले भूकम्पबाट पीडित मोरोक्कोका जनताप्रति सहानुभूति व्यक्त गर्दै आफ्नो ट्वीट अकाउन्टमा मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।


