काठमाडाैं । हरेक वर्ष अगस्ट ३० लाई विश्वभर बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।
सन् २०१० मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट बेपत्ता पार्ने कार्यबाट सबै व्यक्तिहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयनमा आएपछि संयुक्त राष्ट्रसङ्घले सन् २०११ देखि सो महासन्धि पारित भएको दिन अगस्ट ३० लाई बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको हो।
यस महासन्धिले बलपूर्वक बेपत्ता पार्ने कार्यलाई “राज्यको एजेन्ट वा राज्यको आदेश, समर्थन वा सहमति वा स्वीकारमा काम गर्ने कुनै व्यक्ति वा व्यक्तिहरूको समूहले कसैलाई पक्राउ गर्ने, थुनामा राख्ने, अपहरण गर्ने वा अरु कुनै किसिमले उक्त व्यक्तिलाई उसको स्वतन्त्रताबाट वञ्चित गर्ने तथा यसरी स्वतन्त्रता कुण्ठित गराई नियन्त्रणमा राखिएको अस्वीकार गर्ने अर्थात सो व्यक्तिको वास्तविक अवस्था वा उसलाई राखिएको स्थान आदिबारे जानकारी ढाकछोप गरी कानुनी सुरक्षाको परिधि बाहिर राख्ने कार्य” भनी परिभाषित गरेको छ। नेपालमा पनि एक दशक लामो सशस्त्र द्वन्द्व र अन्य द्वन्द्वका क्रममा राज्य र द्वन्द्वरत पक्षबाट व्यापक मात्रामा नागरिकहरूलाई बेपत्ता पारियो र तीमध्ये सयौँ जना अझै पनि बेपत्ता नै छन्।
विस्तृत शान्ति सम्झौताको बुँदा नं ५.२.३ मा “दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिहरूको तथा युद्धको समयमा मारिएकाहरूको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचनाहरू सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी उपलब्ध गराउने” उल्लेख भएको छ। तर सो सम्झौता भएको १७ वर्ष बितिसक्दा पनि बेपत्ताहरूको अवस्था सार्वजनिक गरिएको छैन।
बलपूर्वक बेपत्ता पारिने कार्य अत्यन्त गम्भीर र निरन्तरको अपराध भएकोले यी घटनाहरूको प्रभावकारी फौजदारी अनुसन्धान गरी सन्दिग्धहरूलाई न्यायको कठघरामा उभ्याउन तथा पीडित परिवारहरूको सत्य र परिपूरणको अधिकार स्थापित गर्न आवाज उठाउन र दबाब श्रृजना गर्नका लागि बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा द्वन्द्व पीडित समुदाय र नागरिक सङ्घ संस्थाहरूद्वारा यही भाद्र १३ गते बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको सम्झनामा साँझ ५:३० बजेदेखि नयाँ बानेश्वर स्थित एभरेष्ट होटल अगाडि दीप प्रज्वलन कार्यक्रम आयोजना गरिंदै छ।
यस कार्यक्रममा यहाँको उपस्थितिले आफ्नो परिवार र न्यायको पर्खाइमा रहेका पीडितका परिवार र आफन्तहरूको आवाजलाई बुलन्द पार्न टेवा मिल्नेछ। कार्यक्रमसम्बन्धी ई-निमन्त्रणा यसै इमेलमा समावेश गरिएको छ।