मोरङ – काम सकेर घर फर्किँदै गरेका श्रमिकलाई मुक्का प्रहार गरेर घाइते बनाएका विराटनगरका आयुष भेटवालसहित अन्य तीनजनाविरुद्ध मोरङ प्रहरीले अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार १९ वर्षीय भेटवाललाई ज्यान मार्ने उद्योगमा सजायको माग दाबीसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरिएको हो।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार प्रहरीले घटनाबारे अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएको हो। असार २० गते राति करिब ८ बजे विराटनगरको दुधफरामनजिक भेटवालले महानगरपालिका–६ का पवनकुमार साह हलवाईलाई मुक्का हानेका थिए।
सिसिटिभी फुटेजमा घटना रेकर्ड भएसँगै प्रहरीले भेटवाललाई खोजी गरी २१ गते पक्राउ गरेको थियो। पीडित साह विपरीत दिशाबाट साइकलमा आउदै गर्दा बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटवालले मुक्का प्रहार गरेका थिए। मुक्का प्रहारबाट साइकलबाट सडकमा ढलेका साहलाई भेटवाल र उनका साथी रोशन कार्कीले साइकलसहित अमानवीय तवरबाट घिसार्दै सडकबाट छेउ लगाएका थिए।
यसक्रममा साइकलमा सवार साह बेहोस हुन पुगेका थिए। बेहोस अवस्थामा रहेका साहलाई सडक किनारमा छाड्दै भेटवाल र कार्की भागेका थिए।
हाल पक्राउ परेका र फरार रहेकाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (१) अन्तर्गत ज्यान मार्ने उद्योग कसूर गरेको माग दाबीसहितको प्रतिवेदन बुझाएको प्रहरी प्रवक्ता दाहालले बताए।
मुक्का प्रहार गर्ने भेटवाललाई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानासहितको मुद्दा दायर गर्ने प्रहरीको तयारी रहेको छ।


