–प्रीति रमण
नेपालको प्रमुख हवाई नाका हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । राजधानी काठमाडौंमा रहेको यो विमानस्थल केही अघिसम्म मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि थियो । त्यसैले स्वाभाविक रुपमा पनि यहाँ भन्सार तथा प्रहरी प्रशासनको उपस्थिति बलियो रुपमा हुने नै भयो । तर, यही विमानस्थल हुँदै केही दिनअघि एक सय क्विन्टल तस्करीको सुन बाहिरियो । भन्सारको जाँचपास गरेर बाहिर निस्कँदा पनि यो सुन कसैले समात्न सकेन वा कसैले समात्न चाहेनन् । तर, यसले मुलुकको प्रमुख हवाई नाका नै तस्करका लागि कसरी ‘स्वर्ग’ समान भइरहेको छ भन्ने स्पष्ट पारेको छ ।
कुनै बेला अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले नेपालको त्रिभुवन विमानस्थलबाट ‘हात्ती नै छिराइदिन सक्ने’ उल्लेख गरेका थिए । यसको अर्थ विमानस्थलबाट तस्करी गर्न कुनै समस्या नरहेको भन्ने थियो । चाल्र्सले वर्षौंअघि भनेको अवस्था अहिले पनि ज्यूँका त्यूँ नै छ । अहिले पनि क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको छ, तर सरकार भने रमिते बनेको छ । सुन मात्र नभएर अन्य वस्तुको तस्करीमा पनि सरकार केवल मूकदर्शक देखिएको छ । अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो । जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो । यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पाट्र्सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो । जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएर अपरेसन गरिएको थियो ।
नेपालमा अहिले सुनको वैध आयात केवल बैंकहरूले मात्र गर्न पाउँछन् । त्यसका लागि पनि दैनिक कोटा १० किलोग्रामको सीमा तोकिएको छ । देशभित्र नै सुनको खपत अहिले उच्च मूल्यका कारण शिथिल भइरहेको व्यवसायीहरू बताउँछन् । व्यवसायीका अनुसार दुबईमा भन्दा नेपालमा सुन प्रतितोला १७,००० रुपैयाँले महँगो पर्छ । एक तोलामा त्यति धेरै फाइदा भएपछि तस्करहरूले विभिन्न सेटिङ मिलाएर नाफा बाँड्नेगरी सुन भित्र्याउने गरेक छन् । त्यसमाथि वैध रूपमा ल्याउँदा तिर्नुपर्ने भन्सार पनि छलिन्छ । नेपाल र भारतमा सुनको मूल्य उस्तैउस्तै भएका बेला उतैबाट सरासर आयात नगरी यताबाट अवैध तस्करी गराउनु भनेको त त्यहाँ स्रोत देखाउन नमिल्ने पैसा भएकाहरूले गरेको कारोबार हुनसक्ने जानकारहरूको भनाइ छ । कर नतिरेको, भ्रष्टाचार गरेको, अनि आतंककारी क्रियाकलापसँग सम्बन्धित अर्थतन्त्रसँग यस्ता तस्करी कारोबार जोडिने उनीहरू बताउँछन् । अवैध सुन आयातले देशको अर्थतन्त्रमा माथिदेखि तलसम्म शृंखलाबद्ध विचलन ल्याउँछ । अहिले प्रत्येक एक किलोग्राम सुनमा भन्सार शुल्क मात्र १२ लाख रुपैयाँभन्दा धेरै तिर्नुपर्ने हुन्छ । एक क्विन्टल सुन तस्करी हुँदा १२ करोडको भन्सार नोक्सानी हुन्छ ।
सुरक्षा कमजोरीको फाइदा उठाउँदै तस्करहरुले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर अबैध रुपमा ठूलो परिमाणमा सुन तस्करी गरिरहेका छन् । तस्करीको केही सुन नेपालमा प्रयोग हुने र केही भारत जाने गरेको छ । केही वर्षअघि काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलोग्राम सुन बरामद भएको थियो त्यही वर्ष काठमाडौं र जनकपुरबाट प्रहरीले १५ किलोग्राम सुन पक्राउ गरेको थियो । आव २०७१÷०७२ मै तस्करबाट समातेको ६४ दशमलव ५५६ किलोग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले राष्ट्रबैंकलाई बुझाएको उल्लेख छ ।
राष्ट्र बैंकको ढुकुटीमा जम्मा गरेको सुनको तथ्यांकमा राजस्व अनुसन्धान कार्यालय इटहरीले सोही आर्थिक वर्षमा ७ दशमलव ९९६ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा गरेको छ । यसैगरी सोही आर्थिक वर्षमा पथलैया भन्सार कार्यालयले १० दशमलव २३४ किलोग्राम सुन राष्ट्र बैंकलाई बुझाइएको छ । यसैगरी गौर भन्सार कार्यालयबाट सोही आर्थिक वर्षमा ५ दशमलव ३२९ किलोग्राम सुन प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सोही आर्थिक वर्षमा विभिन्न नाकाबाट अबैध रुपमा नेपाल ल्याइएको ७४ दशमलव ९५६ किलोग्राम सुन सम्बन्धित भन्सार कार्यालय तथा अन्य निकायले राष्ट्र बैंकलाई बुझाएको तथ्यांक छ । आर्थिक वर्ष २०७२÷०७३ मा ठूलो परिमाण (१ किलोग्रामभन्दा माथि) ३३ दशमलव ३७३ किलोग्राम सुन राष्ट्रबैंकले आफ्नो ढुकटीमा जम्मा भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷०७३ मा अबैध रुपमा नेपाल ल्याइएको ठूलो परिमाण (१ किलोग्राम भन्दा माथि) ९४ दशमलव २०३ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भएको छ । जसमध्ये सबैभन्दा धेरै परिमाणमा काठमाडौं जिल्ला अदालतले ४७ दशमलव ८८४ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भएको तथ्यांक छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ३१ दशमलव १०६ किलोग्राम बुझाएको राष्ट्रबैंकले जनाएको छ ।
यसैगरी सोही आर्थिक वर्षमा रसुवा भन्सार कार्यालयबाट प्राप्त ६ दशमलव ३८४ किलोग्राम सुन पनि राष्ट्रबैंकको ढुककुटीमा जम्मा भएको छ । राजस्व अनुन्धान विभाग पुल्चोक कार्यालयले पनि विभिन्न समयमा गरी ५ दशमलव ६१३ किलोग्राम सुन राष्ट्रबैंकको ढुकुटीमा जम्मा गरेको छ । सोही आर्थिक वर्षमा भन्सार कार्यालय पथलैयाले २ दशमलव ६९८ किलोग्राम सुन राष्ट्रबैंकलाई बुझाएको छ भने भन्सार कार्यालय भैरहवाले १ दशमलव १६९ किलोग्राम सुन बुझाएको तथ्यांक छ । यस्तै सोही आर्थिक वर्षमा विभिन्न कार्यालयबाट ३ दशमलव २१४ किलोग्राम सुन पनि राष्ट्रबैंकको ढुकुटीमा जम्मा भएको छ ।
नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर सुन तस्करी पञ्चायतकालबाटै शुरु भएको विज्ञहरु बताउँछन् । २०४२ सालदेखि नै पञ्चहरु सुन तस्करीको विवादमा मुछिएका तथ्यांकहरु भेटिन्छन् । अहिलेसम्म विभिन्न समसयमा पक्राउ परेको ४ हजार किलोग्राम भन्दा बढी सुन रहेको राष्ट्र बैंकले जनाएको छ । सुन तस्करीमा राजनीतिक दलका नेता, कर्मचारी, प्रहरी, ब्यापारी र तस्करहरु मिलेका देखिन्छन् । यो जालो कस्ले तोड्ने ? जनताले ? प्रश्न सहज छ, तर जवाफ पाउन कठिन छ !


