मोरङ – मुलुकमा कम्युनिष्टहरुलाई बिगार्ने काम एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दै आएको आरोप नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले लगाएका छन्।
शनिबार विराटनगरमा ४५ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा महासचिव भुषालले एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि भाष्य नै बिग्रिएको बताए।
पार्टीभित्र आरोप प्रत्यारोप, गाली गलौचजस्ता कार्य ओलीबाट हुँदै आएको गुनासो समाजवादीका महासचिव भुसालको छ। उनले भने, ‘प्रधानमन्त्रीको रुपमा उहाँले पदलाई चिठ्ठा पाएको झैं उडाउनु भयो। प्रधानमन्त्रीले महिनामा ३ पटक राम्रो कार्य गर्दा ३ करोड जनतामा त्यसको सकारात्मक प्रभाव पर्दछ। आज उहाँकै कारण अन्य राजनीतिक दलहरुको उदय भएको छ।’
रास्वपालगायतको उदय ओलीकै कारण भएको बताएका उनले भने, ‘अहिले घण्टीले केही पनि गरेको छैन। यो हावाहुरीबाट आएकोजस्तो देखिन्छ। तर हामी सुध्रिएनौँ भने घण्टी मात्रै होइन शंखको पनि उदय हुन सक्छ। त्यसबेला हामीलाई छेस्काले पनि असर गर्न सक्छ। अब यसलाई सुधार गरेर जानुपर्छ।’
कार्यक्रममा महासचिव भुसालले एकीकृत समाजवादीको वडादेखि नै अब बन्ने पदाधिकारीले पाँच वर्षे खाका ल्याउनुपर्नेमा जोड दिए। सोही खाका हेरेर मात्रै कमिटीमा राखिने उनको भनाइ छ।